
जिल्लाको शुभकालीका गाउँपालिका वडा नं. ६ मा आइतबार राती सवार बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । वडा नं ६ को चिसापानी स्थित बेहुली पानतडी सडक खण्डको चौकी बजारबाट हाउडीतर्फ आउदै गरेको बोलेरो दुर्घटना भएको हो ।
आइतबार राती १२ बजेर ३० मिनेटमा हाउडी तर्फ आउदै गरेको लु १ च ८४९८ नं को डबल क्याप जिप सडकदेखी अन्दाजी एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले दुर्घटना परी मृत्यु हुनेमा शुभकालीका गाउँपालिका वडा नं २ का जिप चालक वर्ष ३० का हर्के कामी, शुभकालिका ८ बस्ने वर्ष ३१ का राम बहादुर शाही र दैलेख जिल्ला नौमुले घर भएका वर्ष अन्दाजी २५ का गोपाल सलामी मगर रहेको बताउनुभयो ।
प्रहरी प्रमुख रिमालले थप अनुसन्धानको लागी प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरीक्षक यज्ञराज जोशीको कमाण्डमा प्रहरी टोली खटाइएको जानकारी दिनुभयो । रातीको समय भएकाले घटना ढिलो गरी थाहा भएको प्रहरीको भनाई छ । यस अघि बिहिबार बिहान कालीकोटको सेरा बजारमा भएकाे जिप दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु भएको थियो भने एक जना गम्भिर घाईते भएका थिए ।