
आगामी १९ गते विराटनगरमा सम्पन्न हुन गइरहेको सातौं म्युजिकखबर म्युजिक अवार्ड २०७५ मा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ । नेपाली गीत सङ्गीत क्षेत्रमा रहेका र बिभिन्न दृष्टिकोणबाट यसक्षेत्रको समृद्धिमा टेवा पुर्याएका व्यक्तित्वहरुलाई सम्मानित तथा पुरस्कृत गर्न लागिएको हो ।
विगत ६ वर्षदेखि राजधानीमा सम्पन्न हुँदै आइरहेको म्युजिक खबर म्युजिक अवार्डको सातौ संस्करणमा यस वर्ष म्युजिक दीर्घ साधना सम्मान रानुदेवी अधिकारी, म्युजिक खबर दशकको स्रष्टा सम्मान तुलसी पराजुली र माण्डवी त्रिपाठी, म्युजिक खबर डायस्पोरा सङ्गीत सम्मान प्रेम सापकोटा सोनु, म्युजिक खबर युवा प्रतिभा सङ्गीत सम्मान मल्लिका कार्की, म्युजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार गीता अधिकारी, म्युजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान याङ्शु श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
त्यसैगरी म्युजिक खबर प्रदेश नं १ विशेष सम्मानबाट गायक सिताराम पोखरेल, गीतकार शुभ मुकारुङ र गायक डीबी गुरुङलाई सम्मानित गरिने भएको छ ।
रानुदेवी अधिकारी, म्युजिक खबर दीर्घ साधना सम्मान
प्रजातान्त्रिक रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीलाई यस वर्षको दीर्घ साधना सम्मान प्रदान गरिन लागिएको छ । सातौं म्यूजिक खबर म्यूजिक अवार्डको अवसर पारेर गायिका अधिकारीलाई म्यूजिक खबर दीर्घ साधना सम्मान २०७५ प्रदान गरिन लागिएको हो । राणा शासन विरुद्धको अभियानामा प्रजातान्त्रिक आन्दोलन रेडियोमा गीत गाएर होमिएकी रानुदेवीले २००६ सालमा पहिलो गीत रेकर्ड गराएकी थिइन् । तारणीप्रसाद कोइरालाको शब्दमा उनले गाएको गीतले जनतालाई जागरुक गराएको थियो । प्रजातन्त्र आएपछि त्यस रेडियोलाई काठमाडौं ल्याएर रेडियो नेपाल बनाइएको थियो ।
तुलसी पराजुली, म्युजिक खबर दशकको स्रष्टा सम्मान
त्यसैगरी संगीतमा लामो समय योगदान गर्दै आएका र पछिल्लो दशकमा आफ्नो योगदानलाई अझ शिखरमा पु¥याएका स्रष्टाहरुलाई प्रदान गरिने म्यूजिक खबर दशकको स्रष्टा सम्मानबाट यस वर्ष गायक तुलसी पराजुली र गायिका माण्डवी त्रिपाठीलाई सम्मानित गरिने भएको छ । २५ वर्षदेखि निरन्तर क्रियाशील रहेका गायक पराजुली धनकुटा डाँडाबजारमा जन्मिएका हुन् । तुुलसी पराजुलीका गीति एल्बमहरु परदेशी, घुम्तीको बाटोमा, देउराली, बिरानो देश, मायाको चिनो, खोटाङ्ग जिल्ला दिक्तेल बजार, झलझली आँखैमा (सालैज्यु), घिन्ताङ्ग, लेकैमा चौरी, कुईनेटो, मूल बाटो, चौरीको छुर्पी लगायतका एल्बमहरु बजारमा आइसकेका छन् ।
माण्डवी त्रिपाठी, म्युजिक खबर दशकको स्रष्टा सम्मान
त्यस्तै दुई दशकको सांगीतिक यात्रा तय गरिसकेकी गायिका माण्डवी त्रिपाठी भने सुन्दरबजार लमजुङमा जन्मिएर संगीत क्षेत्रमा क्रियाशील छन् । करिब एक हजारभन्दा माथि दोहोरी गीतमा स्वर दिइसकेकी माण्डवीले सिम्पल सिम्पल कान्छीको, ढल्क्यो ढल्कयो, मात लाग्यो, ढोल बज्यो, बारुले कम्मरदेखि अहिलेको टाकनटुकुनसम्म आउँदा उनले फरक र चर्चित गीतहरुमा स्वर दिइसकेकी छन् ।
प्रेम सापकोटा सोनु, म्युजिक खबर डायस्पोरा सङ्गीत सम्मान
त्यसैगरी जापानमा रहेर नेपाली गीतसंगीतमा निरन्तर लागिरहेका गायक प्रेम सापकोटा सोनुलाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मानबाट सम्मानित गरिने भएको छ । नेपाली लोकदोहोरीको क्षेत्रमा ८ वर्षदेखि निरन्तर क्रियाशील रहेका गायक प्रेम सापकोटा गीति लेखन, भाका सङ्कलनमा समेत सक्रिय रहँदै आएका छन् । सातौं म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा ‘म्यूजिक खबर डयास्पोरा सङ्गीत सम्मान २०७५’ प्रदान गरिन लागिएको हो । हालसम्म २ दर्जन बढी गीतहरूमा आफ्नो आवाज दिएका प्रेम गायनको अलावा सिर्जनामा पनि उत्तिकै अब्बल देखिन्छन् भने केही गीतहरूमा उनी आफै अभिनय र निर्देशन समेत गरेका छन् । मायाको घैला, यस्तै छ बाबा, दुनियाँको नजरमा, आइफोनको रुख, जापानी रेल, मरे बराबर, परदेशी दिदी, सुन्तला कुहिए गाउँमा, बच्चाको साथी लगायत उनको स्वर र सिर्जनामा साङ्गीतिक बजारमा आएका थुप्रै गीतहरूले राम्रो चर्चासँगै सफलता पाएका छन् ।
मल्लिका कार्की, म्युजिक खबर युवा प्रतिभा सङ्गीत सम्मान
त्यसैगरी लाजको लाली, तिमीले नसम्झिँदा माया, यतिधेरै मान्छेहरुको भीडमा जस्ता दर्जनौं गीत गाइसकेकी गायिका मल्लिका कार्कीलाई यस वर्षको ‘म्युजिक खबर युवा प्रतिभा सङ्गीत सम्मान–२०७५’ प्रदान गरिन लागिएको हो । गायिका कार्की २०६१ देखि हालसम्म निरन्तर क्रियाशील रही नेपाली गीतसंगीतको क्षेत्रमा योगदान गरिरहेकी छन् । मोरङ सिजुवामा जन्मिएर नेपाली गीतसंगीतलाई शिरोपर गर्दै देशविदेशमा आफ्नो प्रस्तुति दिँदै आएकी गायिका कार्कीलाई सातौं म्युजिक खबर म्युजिक अवार्डको अवसरमा यो सम्मान प्रदान गर्न लागिएको हो ।
गीता अधिकारी, म्युजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार
त्यसैगरी मुलुकको पूर्वी भाग मोरङ जिल्लाको केराबारीमा जन्मिएर गीतसंगीत, चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएकी पत्रकार गीता अधिकारीलाई यस वर्षको ‘म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान-२०७५’ प्रदान गरिने भएको हो ।
देशको पूर्वी भाग मोरङ जिल्लाको केराबारीमा बुबा पदमप्रसाद अधिकारी र माता यमकुमारी अधिकारीका चार सन्तान मध्ये कान्छी गीता अधिकारी काठमाडौलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेकी छन् । २०६१ सालमा मानचित्र मासिकबाट पत्रकारिता शुरु गरेकी गीताले कला मनोरञ्जन पत्रकारितमा आफूलाई संलग्न गराउँदै आएकी छन् ।
नयाँ विमर्श साप्ताहिकलगायत आधा दर्जन साप्ताहिक पत्रिका, छापा खबर मासिक र मध्यान्न दैनिक हुँदै कमाण्डर पोष्ट दैनिकमा पत्रकारिता गरेकी गीता हाल फिल्मी खबर साप्ताहिकमा सह-सम्पादक र मिलाप म्याग्जिनका साथै मिलाप न्युज डट कमकी कार्यकारी सम्पादक रहेकी छन् ।
उनका राजधानी र मोफसल दैनिक पत्रिकाहरुमा सम सामायिक विषय, महिला हिंसाका विषयका साथै विभिन्न साहित्यिक लेखहरु प्रकाशित भइरहेका हुन्छन् ।
रंग पत्रकारिताका अलवा विभिन्न विज्ञापन तथा चलचित्रका पर्दामा पनि देखिएकी गीता साहित्य लेखन, रंगकर्म एवम् सामाजिक कार्यमा पनि आफूलाई व्यस्त बनाउँदै आइरहेकी छन् ।
चलचित्र पत्रकार संघमा सदस्यहुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेकी गीता पत्रकारको नेताकारुपमा पनि परिचिति छिन् ।
हेल्प फर ह्युमन सम्मान, नागरिक सेवा सम्मान, नेपाल सांस्कृतिक कला मन्दिर सम्मान, नेपाल चलचित्र युवा सम्मान, छायाँ छबी नारी पत्रकारिता पुरस्कार, सुन्दरादेवी सन्देश पत्रकारिता पुरस्कार, सुन्दरादेवी सन्देश अवार्ड सम्मान, विन्धयवासिनी म्युजिक पत्रकारिता सम्मान, ओएस नेपाल डटकम सम्मान, नेशनल क्यापिटल अवार्ड सङ्गीत पत्रकारिता सम्मानलगायत अन्य एक दर्जन विभिन्न संघ सस्थाबाट सम्मानित तथा पुरस्कृत गीता अधिकारी राजधानीमा हुने विभिन्न सौन्दर्य प्रतियोगितामा निर्णयकको भुमिकामा पनि त्यतिकै देखिने गर्छिन । गीत लेखनमा समेत आफूलाई प्रस्तुत गर्दै आएकी गीताले हालै दुबईमा सम्पन्न भएको मोडल सङ्गस अवार्डमा तीज गीत ‘यतै घमाइलो उतै घमाइलो’बाट उत्कृष्ट तीज गीत रचनामा अवार्ड समेत चुम्न सफल भएकी छन् ।
जुनबेला महिला पत्रकारहरुको न्यून संख्या रहेको बेलामा उनी पत्रकारिता जगतमा प्रवेश गरेकी थिइन् । नारीलाई असक्षम पात्रका रुपमा उभ्याउने समाजमा उनले गरेको संघर्षले एउटा उदाहरण बनाएको छ ।
याङ्शु श्रेष्ठ, म्युजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान
दाङ जिल्लामा जन्मिएर सानै उमेरमा कलाको माध्यमबाट ख्याती कमाएकी बाल प्रतिभा हुन याङ्गशु श्रेष्ठ । २०६६ साल असोज २४ गते जन्मिएकी याङ्गशु श्रेष्ठले सानै उमेर देखी नै देश भित्रका बिभन्न स्टेज र भारतीय स्टेजमा समेत आफनो कला प्रदर्शन गरिसकेकी छन । याङ्गशु बहु प्रतिभाशाली बालकलाकार हुन । उनी गायन, नृत्य र अभिनयमा पोख्त छिन । नेपालका प्रसिद्ध संगीतकार महेश खडका, सन्तोष श्रेष्ठ लगायतका संगीतकारको संगीत र लोकराज अधिकारी केएल पीडित लगायतका गीतकारका शब्दमा आधुनिक र चलचित्रको गीत गायकी याङ्गशु श्रेष्ठलाई यस वर्षको ‘म्युजिक खबर बाल प्रतिभा प्रोत्साहन सम्मान २०७५’ प्रदान गरिने भएको हो ।
म्युजिक खबर प्रदेश नं १ विशेष सम्मान
त्यसैगरी गीतसङ्गीतको क्षेत्रलाई उच्चकोटीको बनाउन मुलुकको पूर्वीय क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ । प्रदेश नं. १ का स्रष्टा र सिर्जनालाई मध्यनजर गर्दै आन्तरिक रुपमा कल्चरल पर्यटन भित्र्याउने उद्देश्यले आयोजना गरिएको सातौं म्यूजिक खबर म्युजिक अवार्डको अवसरमा ‘म्युजिक खबर विशेष सङ्गीत सम्मान-२०७५’ बाट गायक सिताराम पोखरेल, गीतकार शुभ मुकारुङ र गायक डीबी गुरुङलाई सम्मानित गरिने भएको छ ।
