
१८ बर्ष पहिले बनेको चलचित्र ‘कर्तव्य’मा रहेको गीत ‘बादल बर्षा बिजुली’ पछिल्लो समय निकै चर्चित बन्यो । छोटा भिडियोको लागि रुचिकर बनेको सञ्जाल ‘टिकटक’ले यो गीतलाई पुनरुज्जीवन दिलायो । यो गीत ‘भाईरल’ भएसँगै युट्युब लगायतका विभिन्न प्लाटफर्ममा करोडौँपटक हेरिएपछि यसका सर्जकहरूले नयाँ भर्सनमा सार्वजनिक गरेका छन् ।
काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी गीतलाई पुनःरेकर्ड गरी बनाईएको म्यूजिक भिडियो सोमवार सार्वजनिक गरिएको छ । गीतको एरेन्ज पनि पुनः गरिएको छ । पुरानो गीतमा फणिन्द्र राईले एरेन्ज गरेका थिए भने नयाँमा उदयराज पौडेलले गरेका छन् । गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्यले पुनः स्वर भरेका छन् । सुब्रत आचार्यले भिडियोको निर्देशन गरेका छन् । विजु पार्की र कबिता नेपालीले अभिनय गरेका छन् ।
गीत सार्वजनिक कार्यक्रममा गायक-गायिकासँगै यसका शब्द रचनाकार करुण थापा र सङ्गीतकार सचिन सिंहको पनि उपस्थिती रहेको थियो । यो गीतको अडियोको प्रतिलिपी अधिकार चलचित्रसँगै साईराम पिक्चर्सले लिएको थियो । गीतको नयाँ भिडियो भने गायक कार्कीको अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ ।