नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ। गत बुधवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रीय सदस्यले आ- आफनो धारणा राखिसकेका छन्।
हिजोको बैठकमा बर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आ-आफनो धारणा राखेका थिए।
बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताउँदै यसलाई अझै प्रभावकारीरूपमा द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताए ।
पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बीचैमा नरोकिने र रोक्न नहुने बताए। पुनले आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा जोड दिए ।
‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ। अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ,’ उनले भने, ‘कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनुहुँदैन। छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि हामी तयार हुनुपर्छ।’
पुनले प्रचण्डको विकल्प कसैले नखोजेको भन्दै उत्तराधिकारी निर्माण’ विधिको विकास गर्नुपर्ने बताए। ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन। अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु,’ उनले भने, ‘उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं ।’
अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टीमा महासचिवमा वर्षमान पुन र आफूमध्ये जसलाई बनाए पनि मान्य हुने अनुरोध गर्दागर्दै अर्को प्रस्ताव अघि सारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
‘हामी तपार्इंकै हौं, दुई जना (वर्षमान पुन र शर्मा)मध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहजरूपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ। अनि गरौं के ?’ शर्माले प्रश्न गरे।
उनले अध्यक्षकै आग्रहमा आफ्नो मत थाती राखेर भए पनि सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर बोलेको र वातावरण बनाएको बताए।
‘परिस्थिति अदलबदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सधैं अध्यक्षको पक्षमा खडा भएकै छु,’ शर्माले भने, ‘होला कहिलेकाहीं आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर, त्यसैलाई असहयोग ग¥यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ ।’
उनले अध्यक्ष प्रचण्डलाई कुनचाहिँ अप्ठ्यारो मोडमा आफ्नो साथ र समर्थन नपाएको भनिदिन आग्रह समेत गरेका छन् । पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने संकल्प गर्नुपर्ने उनको भनाइ थियो । पार्टीभित्र मनोनयनको सट्टा निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने भनाइ शर्माको छ ।
‘पार्टीभित्र आलोचना र आत्मालोचना गर्ने, लागेका कुरा छलफल गरी सही वा गलत के हो भन्ने कुरा स्पष्ट गर्ने, नेतृत्वले एक वा अर्कोलाई विश्वासका आधारमा व्यवहार गर्ने पद्धतिको विकास गर्नुपर्छ,’ उनले भने ।
नेताहरू जिल्ला नगएको भन्ने केन्द्रीय सदस्यप्रति लक्षित गर्दै पौडेलले यस्तो प्रश्न उठाएका हुन् । उनले अहिले माओवादी सफल कि अवशानको चुनौतीपूर्ण मोडमा रहेको बताए।
सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।