
काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धकाे मुद्दामा आज सुनवाइ हुँदैछ।
नावालिग बलात्कारको उक्त मुद्दाको पेसी आज (बिहीबार)का लागि तोकिएको हाे।
यस मुद्दाको पेसी यसअघि पटक पटक परे पनि अन्तिम सुनुवाइ हुन सकेको थिएन्।
यसअघि भदौ १० गते उनीविरुद्धको नाबालिग बलात्कार मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाश पण्डितको इजलासमा परेको थियो। तर ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि बिहीबारका लागि पेसी तोकिएको हो।
पछिल्लो पटक गत साउन ३२ गते उक्त मुद्दामा सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी (गौशाला २६)की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो।
पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो। न्यायाधीश खतिवडाको साउन ३२ गतेको इजलासले मुद्दाको नियमित सुनुवाइ गर्ने निर्णयसमेत गरेको थियो।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।