प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल चिकित्सक संघले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका संघका उपाध्यक्ष डा. प्रकाश बुढाथोकीले जानकारी दिए । प्रधानमन्त्री दाहालले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई जो कोहीलाई उन्मुक्ति नदिने बताएको उनले जानकारी दिए ।
संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ । यही भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा विकास थापा र डा प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला सांघातिक आक्रमण गरिएको थियो ।
त्यही घटनाको विषयलाई लिएर आज प्रधानमन्त्रीसँग संघको टोलीले भेट गरेको थियो । संघले नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारितापूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा बिरामीलाई पठाइएको र बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।