
मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थकर्मीले सामूहिक राजीनामा दिएका छ्न् ।
डेंगु संक्रमणको कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा-१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहित केही युवाले बुधबार दुईजना डाक्टरमाथि अस्पतालभित्रै छिरेर कुटपिट गरेका थिए । आफूहरूमाथि असुरक्षा बढेको भन्दै आन्दोलनमा उत्रेका चिकित्सक तथा स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएको हेटौंडा अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए ।
पीडित चिकित्सकहरूलाई आक्रमणकारीले प्रहरीकै अगाडि ज्यान मार्ने धम्की दिँदासमेत प्रहरी निरीह बनेको भन्दै स्वास्थकर्मीहरुले आज सामूहिक उजुरीको तयारीसमेत गरेका छन् । दोषीलाई कारबाही गर्नुपर्ने चौतर्फी दबाब बढेपछि प्रहरीले सीसीटीभी फुटेजको आधारमा डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती रमा, छोरा रोहित, छोरी रमिता तथा भतिज अनुप प्रधानलाई पक्राउ गरेको छ ।
लोकप्रिय समाचार