
आज हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।
हिन्दु नारीहरूले भगवान शिवको पूजा आराधना गरी आफ्नो पतिको दीर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि व्रत बसेर मनाउँदै छन्।
पार्वतीले भगवान शिव पतिका रुपमा पाऊँ भनेर गरेको ब्रतलाई नै हरितालिका तीजका भनिएको हिन्दु धर्ममा उल्लेख गरिएको छ। आफ्ना पिताले आफ्नो विवाह भगवान विष्णुसँग गरिदिन लागेको थाहा पाएपछि चिन्तित भएकी पार्वतीलाई उनका साथीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सो स्थानमा नै पार्वतीले निर्जला ब्रत बसेको हुनाले हरितालिका ब्रत भन्ने गरेको धार्मिक मान्यता रहेको छ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ। अर्थात् साथीद्वारा हरण गरिएको भन्ने अर्थमा भाद्र शुक्ल तृतीयालाई हरितालिका तीजको रुपमा मनाउने गरिएको धार्मिक मान्यता छ।
शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरि तालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ।
व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय बचन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।
त्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको गौतमको भनाइ छ।