
जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण त्यहाँका नागरिकले शनिवार रातभर त्रासमै बिताएका छन् । उनीहरुमध्ये अधिकांशले खुला आकाशमुनि रात बिताएका छन् । पटक–पटक गइरहेका पराकम्पहरुले उनीहरुको बास सडकमै भएको छ ।
भूकम्पको त्रासले त्रिपाल टाँगेर बस्नु परेको उनीहरु बताउँछन् । जाजरकोटका पाँचवटा पालिकाका अधिकांश घर भत्केका छन् । नलगाड नगरपालिका–१ बाट ८ सम्म, भेरी–१, ३ र ४ का अधिकांश घरमा क्षति पुगेको छ । यस्तै छेडागाड, कुशे र बारेकोटका घरहरु पनि क्षतिग्रस्त भएका छन् । यहाँका घरहरु बस्नयोग्य अवस्थामा छै्रनन् । भूकम्पबाट नलगाडमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । नलगाडमा मात्रै ५२ जनाको मृत्यु भएको छ । यसपछि भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै छेडागाड नगरपालिकामा एक, जुनिचाँदेमा एक जनाको मृत्यु भएको छ । गम्भीर घाइतेहरुलाई मात्र सुविधासम्पन्न स्थानमा उपचारका लागि लगिएको छ भने अन्य बिरामीको पालिकास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
यसैगरि गाउँभित्र फोन सम्पर्क हुन नसक्दा पनि अझै घाइते हुनसक्ने अवस्था छ । भूकम्पबाट भौतिकरूपमा भएको क्षतिको विवरण अझ आइसकेको छैन भने केही मृतकको सनाखत अझै हुन सकेको छैन ।