
आमा घर सेवा आश्रमको आयोजना तथा ब्रह्रमाकुमारीज मनहरीको ब्यवस्थापनमा भएको चर्चित वरिष्ठ सदावहार गायक आनन्द कार्कीको एकल सांस्कृतिक सन्ध्या कार्यक्रम शनिबार एक भव्य कार्यक्रमबीच सम्पन्न भएको छ ।कार्यक्रममा गायक कार्कीले ‘जनम जनम जिउँला सँगै’, ‘बादल बर्षा बिजुली’, ‘लाग्छ मन हेरी रहूँ’, ‘तिम्रो रूपको’, ‘यी हल्लाहरू हुन्’ लगायत जस्ता चर्चित गीत गाएर मनोरञ्जन प्रदान गर्नु भएको थियो ।
गायक कार्कीले आधुनिक, भजन, गजल, फिल्म, राष्ट्रिय गीतलगायत करिब ५ हजार भन्दा बढी गीतमा स्वर भरेका उनले ७ वटा भाषाका गीत गाएका छन् । कोरियन गीत गाउने उनी नेपालको पहिलो गायक पनि हुन् । आफ्नो गायनबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देश चिनाउन निरन्तर क्रियाशील वरिष्ठ गायक कार्कीले पुर्याएको योगदानको चर्चा कार्यक्रममा समेत गरेको थियो ।
कार्यक्रमको सभापतित्व आमा घर सेवा आश्रमका अध्यक्ष बिजयराज सिग्देलले गरेका थिए । उक्त एकल सांस्कृतिक सन्ध्या कार्यक्रममा वरिष्ठ सदावहार गायक आनन्द कार्की र थाई नेपाली एसोसिएसन थाइल्यान्डका पूर्व अध्यक्ष कुमार कार्कीलाई अभिनन्दन गरिएको थियो ।