Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

अमेरिका र दक्षिण कोरियाले गर्ने संयुक्त सैन्य अभ्यासमा कटौती हुने

admin

usa defence

वासिङ्टन– संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले सन् २०१९ का लागि गर्ने भएको वार्षिक संयुक्त सैन्य अभ्यासमा सहभागी हुने सेनाको संख्या कटौती हुने भएको छ । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले उत्तर कोरियासँगको आणविक वार्तालाई सहजीकरण गर्नका लागि सैन्य अभ्यासमा कटौती गर्न लागिएको बुधबार बताए ।

‘फोल इगल नाम दिइएको सैन्य अभ्यासलाई दुई देशबीचको कुटनीतिक प्रयासलाई नोक्सान नहुने गरी आयोजना गरिनेछ,’ म्याटिसले भने । दुई देशले आयोजना गर्ने नियमित फोल इगल सैन्य अभ्यास सबैभन्दा ठूलो हो । यो अभ्यासप्रति उत्तर कोरियाले संधै आपत्ति जनाउँदै आएको छ । उत्तर कोरियाले यो सैन्य अभ्यासलाई प्रत्याक्रमणको रुपमा हेर्ने गरेको छ ।

करिब दुई लाख दक्षिण कोरियाली र करिब तीन लाख अमेरिकी सेना सहभागी हुने यो विशाल सैन्य अभ्यासमा गत वर्ष पनि केही ढिलाइ र कटौती गरिएको थियो ।

उत्तर कोरियाका नेता किम जोङ उनसँग सिंगापुरमा जुन महिनामा भएको ऐतिहासिक शिखर वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास रोक्ने घोषणा गरेका थिए । उनको भनाइमा यो सैन्य अभ्यास धेरै खर्चिलो र उत्तेजना फैल्याउने मात्र रहेको छ ।

त्यसयता दुवै मुलुकले अरु पनि सैन्य अभ्यासहरु स्थगित गरिसकेका छन् । अर्को महिनाका लागि तोकिएको भिजिलान्ट एस तथा गत अगष्टमा उल्ची फ्रिडम गार्डियन नामका सैन्य अभ्यास रोकिएका छन् ।

तर उत्तर कोरियासँग हालैका दिनमा वार्ताहरु स्थगित भएका छन् । संयुक्तराज्य अमेरिकाले उत्तर कोरियाले आणविक निःशस्त्रीकरण पूर्ण पारदर्शिताका साथ नगरिए उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न नसकिने बताउँदै आएको छ भने उत्तर कोरियाले अमेरिकाको उक्त कदमको कडा शब्दमा निन्दा गर्दै आएको छ ।

अमेरिकाले दक्षिण कोरियामा २८ हजार ५०० सेना तैनाथ गरेको छ । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले उत्तर कोरियासँग मित्रतापूर्ण सम्बन्ध स्थापना गर्ने लामो समयदेखि प्रयत्न गरिरहेका छन । उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम विरुद्ध राष्ट्रसंघीय सुरक्षा परिषदले आर्थिक नाकाबन्दी लगाइरहेको छ ।

आणविक निःशस्त्रीकरणतर्फ उत्तर कोरियालाई सहमतिमा ल्याउन राष्ट्रपति मूनले उत्तर कोरियामा लगानी बढाउने र संयुक्त अन्तर–सीमा परियोजनाहरु आरम्भ गर्ने वचनबद्धता व्यक्त गर्नुभएको छ । तर अस्त्र उत्पादन कार्यक्रम रोक्नै पर्ने अमेरिकी दबाब पनि प्योङयाङमाथि परेको छ ।

दक्षिण कोरियाका रक्षामन्त्रीले उत्तरका जायज गुनासालाई सम्बोधन गर्नुपर्ने भनी अमेरिकी रक्षामन्त्रीले राखेका धारणामाथि सहमति समेत् जनाएका थिए।
कोरिया राष्ट्रिय कुटनीतिक प्रतिष्ठानका प्राध्यापक कीम ह्यून–वूकले संयुक्त सैन्य अभ्यास कटौती हुने सम्भावना रहेको बताए । उनले भने, ‘ट्रम्प प्रशासनले आणविक तथा क्षेप्यास्त्र परीक्षणमा कमी आउनु सकारात्मक रहेको दाबी गरिरहेको छ । त्यहीकारण संयुक्त सैन्य अभ्यासमा पनि कटौती हुनु स्वाभाविक हो ।’

प्योङयाङले आणविक र क्षेप्यास्त्र विकास कार्यक्रम पूरा भइसकेको घोषणा गरेको छ । उत्तरले थप परीक्षण समेत आवश्यक नरहेको बताएको छ ।

ट्रम्पले पनि अर्को वर्षको शुरुमा कीमसँग दोस्रो बैठक गर्ने विश्वास व्यक्त गरेका छन्, तर यही बैठकको तयारीका लागि हुन लागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली उच्च नेतृत्वबीचको बैठक भने रद्द गरिएको छ ।

उत्तर कोरिया आफैँ तयार नभएकाले बैठक हुन नसकेको अमेरिकी भनाइ छ । राष्ट्रपति ट्रम्पले आफूलाई पनि ज्यादै हतार नभएको बताएका छन् । –एएफपी ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको