
डडेल्धुरा, मंसिर ७ । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहीबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
डडेल्धुरा–डोटी जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा खोलामा भएको बस दुर्घटनामा परी २६ जना घाइते भएका छन् । डडेल्धुराको उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा बेलुकी पौने ६ बजेतिर बस दुर्घटना भएको हो ।
डोटीको शिखर नगरपालिका १२ मा रहेको पिसजोन एकेडेमीको से १ क २९३ नम्बरको उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा १३ जना पुरुष र ५ जना महिलाको ज्यान गएको उपक्षेत्रीय अस्पतालले बताएको छ । मृत्यु हुनेमा डोटी दिपायल सिलगढी नगरपालिकाकी ३५ वर्षीया शशी बिक, शिखर नगरपालिका–११ की २५ वर्षीया गोमा भाट जोरा, सोही ठाउँका ४० वर्षीय कैलाश रावल, ४० वर्षीय योगेन्द्र रावल, १६ वर्षीय रोहित बलायर, नवदुर्गा गाउँपालिका–३ का २२ वर्षीय चक्र धामी, २० वर्षीय तिलक खाती, १७ वर्षीय टेक धामी परेका छन ।
त्यस्तै गन्यमधुरा गाउँपालिका–३ की १८ वर्षीया माया रावल तथा गोदावरी नगरपालिका–१० का २३ वर्षीय पुरन कठायतको सनाखत भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी गराएको छ ।
अन्यको पहिचान गर्ने क्रम पनि जारी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका १४ जनालाई कैलालीस्थित सेती अञ्चल अस्पताल र तीन जनालाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको जनाईएको छ भने अन्य ९ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।
