
सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा निर्माण भैरहेको नयाँ नेपाली फिल्म ‘सतीदेवी’ को फस्ट लूक पोस्टर सार्वजनिक भएको छ ।
निर्देशक सुवेदीद्वारा बिहिवार दिउँसो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री मलिका महतलाई प्रस्तुत गरिएको छ ।रातो बुट्टेदार कुर्ता सुरुवालमा देखिएकी मलिकाको गालामा कालो मोसो दलिएको छ भने गलामा जुत्ताको माला लगाइएको देखिएको छ । उनी उक्त हुलियामा दौडिरहेकी छिन् भने एउटा भिडले पछाडिबाट उनलाई लखेटिरहेको छ । पोस्टरमार्फत ‘सतीदेवी’ को शीर्षक भूमिकामा प्रस्तुत भएकी अभिनेत्री महतको चरित्र चित्रण गर्न खोजिएको छ ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी, क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुतिमा निर्माण भैरहेको यो फिल्ममा लक्ष्मण सुवेदीको लेखनसमेत छ । सुवेदी नै प्रस्तुतकर्ता रहेको यो फिल्मका निर्माता श्रीदेवी सुवेदी हुन् । यो फिल्ममा मलिका महतसंगै हर्षिका वली, मञ्जिला बानियाँ (बाल कलाकार), सन्दिप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजीता शिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभने जोशी, इश्वरी सिंह, पवन केसी, जगदिश अधिकारी आदि कलाकारले अभिनय गरेका छन् ।
यो फिल्ममा बाबु श्रेष्ठको छायांकन, तारा थापा किम्भेको सम्पादन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, दीपक शर्मा र सुवास भुसालको संगीत, प्रदाप दास, दीपा लामा, ममता गुरुङ तथा सवीन सुवेदीको गायन छ । फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन छ ।
