काठमाडौं, मंसिर १४।
कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन्। नेपाल भ्रमणमा रहेका प्रधानमन्त्री सेनले शुक्रबार बिहान ऐतिहासिक तथा पुरातात्विक महत्वको पाटन दरबार क्षेत्र भित्र रहेकोे कृष्ण मन्दिर, पाटन संग्राहलय र नजिकै रहेकोे हिरण्य वर्ण महाविहारको पनि उतत्साहपूर्वक भ्रमण गरेका छन्।
शुक्रबार विहान १० बजेतिर सो क्षेत्रमा पुगेका उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतले स्वागत गरे। उक्त अवसरमा उनको सम्मानमा नेवारी संस्कृति झल्कने खालका नेवारी बाजासमेत बजाइएको थियो।
भ्रमणका क्रममा प्रधानमन्त्री सेनले भूकम्पले क्षति पुर्याएका सम्पदाहरूको पुनर्निर्माणबारे पनि चासो राखेका थिए।
प्रधानमन्त्री सेनले पाटन दरबार क्षेत्रभित्र रहेका सम्पदाहरुको रुचिपूर्वक अवलोकन गरेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनाए।
भ्रमणका क्रममा उनले छैठौं शताब्दीमा बनेको हिरण्य वर्ण महाविहारमा पुजापाठ समेत गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री सेनलाई भूकम्पले क्षति पुर्याएका सम्पदाबारे विस्तृत जानकारी गराइएको थियो। एसिया प्यासिफिक समिटमा भाग लिन प्रधानमन्त्री सेन बिहीबार काठमाडौं आइपुगेका हुन्।