
काठमाडौं महानगरपालिकाले शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको छ ।
पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जानकारी दिएको छ ।
‘वडा नम्बर १० स्थित रत्नराज्य स्कुललाई विज्ञान संकाय संचालन गर्न कोइरालाले स्वयं अनुमति दिएको भेटिएको छ,’ सचिवालयका एक सदस्यले भने, ‘अनुमति दिने अधिकार नगर शिक्षा समितिलाई हुन्छ जसको अध्यक्ष मेयर हुने व्यवस्था छ। तर उनले आफ्नो अधिकार नभएको क्षेत्रमा पनि अनुमति दिएको भेटिएको छ।’
कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए । तर शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ ।
‘नगर शिक्षा समितिको निर्णयविना उहाँले कक्षा थप गरेको पाइएपछि कारण सहित सफाइ पेश गर्न प्रमुख प्रशासकीय अधिकृत मार्फत निर्देशन भएको हो । उहाँले कुन निर्णयका आधारमा अनुमती दिएको भन्ने नदेखिएर स्पष्टीकरण सोधेका हौं’, सचिवालयका एक सदस्यले भने ।
