Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

पक्राउ परेकालाई रिहा नगरे सबै बैंकरले पेन डाउन गर्ने खुल्यो कुलेखानी–फाखेल सडक ६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँले गर्‍यो अर्धवार्षिक समीक्षा

Reporter

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौँले अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको केन्द्रले शनिबार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा आर्थिक वर्ष २०८०∕८१ मा सम्पादित क्रियाकलापहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बागमती प्रदेशको तर्फबाट स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य कार्यालय, काठमाडौं जिल्ला अस्पताल (टोखा चण्डेश्वरी अस्पताल)को उपस्थिति रहेको थियो । साथै विभिन्न स्थानीय तहका सामाजिक विकास समितिका संयोजकहरू तथा स्वास्थ्य शाखाका प्रमुखहरू समेतको उपस्थिति रहेको थियो ।

काठमाडौं जिल्लामा रहेका ११ वटा स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका स्वास्थ्य संस्था रहेका छन् । जसमध्ये कागेश्वरी मनोहरा नगरपालिका, नागार्जुन नगरपालिका, दक्षिणकाली नगरपालिका, चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिका मातहत १्र१ वटा गरी जम्मा ५ वटा आयुर्वेद औषधालयहरू सञ्चालनरत छन् ।

साथै बुढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका र शङ्खरापुर नगरपालिकामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा सञ्चालित नागरिक आरोग्य सेवा केन्द्रहरू सञ्चालनरत छन् । कार्यक्रममा यी १० वटा आयुर्वेद निकायहरूबाट यस आर्थिक वर्षमा सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरू तथा निरन्तर प्रवाह गरेका सेवाहरूको समीक्षा गरिएको थियो ।

नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । जनस्वास्थ्य सेवा ऐन, २०७५ ले प्रत्येक नागरिकलाई आयुर्वेद तथा अन्य मान्यता प्राप्त वैकल्पिक स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक उल्लेख गरेको छ ।

आधारभूत स्वास्थ्य प्याकेजका सेवाहरू अन्तर्गत आयुर्वेद तथा अन्य परम्परागत स्वास्थ्य सेवाहरूमा ‘पूर्व∕पञ्चकर्म’ (औषधियुक्त तेलले प्रभावित स्थानमा मालिस गर्ने र औषधिको वाफले सेक्ने), योग सेवा र सुत्केरी आमाको लागि शतावरी (कुरिलो) वितरण भनी उल्लेख गरिएको छ । उक्त सेवा स्वास्थ्य चौकी वा सो सरहका आधुनिक विधाका स्वास्थ्य संस्थाहरूबाट समेत उपलब्ध हुने भनी उल्लेख गरिएको छ । तसर्थ स्थानीय तह मातहत सञ्चालनरत आयुर्वेदका निकाय मार्फत समेत आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि कार्यक्रममा सो सम्बन्धी अभिमुखीकरण समेत गरिएको थियो ।

उपलब्ध सेवाहरू

१ उपचारात्मक सेवा
-नियमित स्वास्थ्य परीक्षण
-चिकित्सकको प्रेषण बमोजिम नेपाल सरकारद्वारा निर्दिष्ट अत्यावश्यक आयुर्वेद औषधिहरूको निःशुल्क वितरण
-पूर्वकर्म⁄पञ्चकर्म सेवा (अभ्यङ्ग, स्वेदन, नस्य, अक्षीतर्पण, शिरोधारा) आदि
-अकुपञ्चर सेवा
-फिजियोथेरापी सेवा
-गर्भ संस्कार सेवा
-उपचारात्मक योग सेवा
-प्रयोगशाला सेवा (रगत, दिसा, पिसाब परीक्षण)

२.निःशुल्क स्वास्थ्य प्रवर्द्धनात्मक सेवा
-ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी रसायन चिकित्सा र योगको माध्यमबाट स्वास्थ्य संरक्षण, प्रवर्द्धन र उचित परामर्श दिने ।
६ महिना सम्मको सुत्केरी आमालाई मातृशिशु स्वास्थ्य र स्तनपानको महत्त्व बुझाउन, आमा र बच्चाको स्वास्थ्य सुधार गर्न तथा कुपोषणबाट बचाउन, सुत्केरी महिलाको पर्याप्त दूध बढाउने औषधि वितरण गर्ने ।
-स्वस्थकर तथा रोगानुसार पथ्यापथ्य आहार विहार सम्बन्धी परामर्श
-योग सेवा 

उपचार तथा स्वास्थ्य सम्बन्धी थप सेवा र सल्लाहको लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र वा नजिकैको आयुर्वेद संस्थाहरूमा सम्पर्क गर्नु अनुरोध गरिएको छ । केन्द्रमा मुख्य रूपमा अम्लपित्त तथा अन्य पेट सम्बन्धी रोगहरू, हाडजोर्नी सम्बन्धी रोगहरू, श्वास(प्रश्वास सम्बन्धी रोगहरू, पिनास, मलद्वारका रोगहरू (पायल्स आदि), मधुमेह, उच्च रक्तचाप लगायत अन्य विभिन्न रोगहरूको उपचार गरिन्छ ।

विशेषज्ञ चिकित्सकद्वारा स्त्री तथा प्रसूति रोगको उपचार गरिन्छ । साथै गर्भिणी महिलाहरूका लागि गर्भ संस्कार सेवा समेत उपलब्ध रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको