
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित रास्वपा र राप्रपाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालाई तत्काल बर्खास्त गर्न माग गरेका छन्।
बैठक सुुरु हुनेवितिकै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले एमाले सांसद रघुजी पन्तलाई बोल्न समय दिएका थिए। पन्तले बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका हुन्।
बिभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुलाई साथमा लिएर प्रधानमन्त्रीले सुशासनको कुरा गर्न नसुहाउने उनले बताए। उनले बालकुमारी घटना हुनेबितिकै मन्त्री ज्वालाले नैतिकताका हिसावले राजीनामा दिनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए।
सांसद पन्तले भ्रष्टाचारको मुद्दामा पर्नासाथ यसअघिका मन्त्रीहरुले राजीनामा दिएपनि अहिले मन्त्री नै झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएको तर्क गरे। लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किरातीको संलग्नता रहेको भन्दै उनले विरोध गरे। सांसद पन्तले एमालेका मागका बिषयमा व्यवहारमा लागू नभए एमाले चूप लागेर नबस्ने चेतावनी दिए।
रास्वपाका सांसद वीराजभक्त श्रेष्ठले २ जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे।
रास्वपाका संसदीय दलका उपनेतासमेत रहेका श्रेष्ठले प्रतिवेदन बुझाएको यत्रो दिन हुँदा पनि प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरिसकेको छैन भन्ने जवाफ दिएको भन्दै आपत्ति जनाए। उनले यतिका दिनसम्म पढेर नसक्ने प्रतिवेदन कस्तो छ? भन्दै प्रश्न गरे।
