
काठमाडौं,मंसिर-२०।
१३ वर्षिय बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्ने देखिएको छ । प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत देखाएको छ । सामूहिक बलात्कारको आशंकामा चारजना पक्राउ परेका छन्, एकजना काठमाडौंबाट र तीन जना महेन्द्रनगरबाट ।
सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंबाट पक्राउ परेका छन । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जनाएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरबाट पक्राउ गरिएको छ । उनीहरू चारैजना लागुऔषध दुर्व्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको समेत प्रहरी उच्च स्रोत बताउँछ । तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले बताएको छ ।
केही युवकहरुले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई नै दुःख दिएको भन्दै आपसमा गरेको कुरा स्थानीयले सुनेका थिए । तिनै स्थानीयले त्यससम्बन्धी प्रहरीलाई दिएको सूचना अनुसार प्रहरीले अनुसन्धान अघि बढाएको थि्यो । तर, त्यतिन्जेलसम्म चारैजना भारत गई सकेका थिए । चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगियो ।त्यहि स्केचको पिछा गर्दै जाँदा प्रदीपलाई काठमाडौंमा र अरूलाई महेन्द्रनगरमा समातिएको प्रहरी स्रोतले बताएको छ ।
प्रदीपसँगको सोधपुछपछि अन्य तीनजनालाई महेन्द्रनगरमा प्रहरीले पक्राउ्गर्न सफल भएको हो । ‘अहिलेसम्मको सोधपुछमा उनीहरूको संलग्नताको धेरै आधार देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘तर, प्राविधिक पक्ष केलाउन बाँकी नै छ ।’ चारै जनाको डिएनए परिक्षणको प्रक्रिया सुरु भइसकेको प्रहरी स्रोत्ले जनाएको छ ।
घटनालगत्तै उनीहरू महेन्द्रनगरमा बस्न छाडे
घटना भए लगत्तै उनीहरू महेन्द्रनगरमा बस्न छाडेका थिए । प्राय उनीहरू भारत बस्थे चारमध्ये केही विगतमा पनि अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरी स्रोत बताउँछ ।
लागूऔषध दुर्व्यसनीहरू नियमित गइरहने क्षेत्रमा नै निर्मलाको शव भेटिएको थियो । पक्राउ परेकाहरू पनि लागूऔषध दुर्व्यसनी भएकाले उनीहरूको संलग्नताको सम्भावना प्रवल रहेको प्रहरी स्रोत बताउँछ ।
काठमाडौंमा पक्राउ परेका प्रदीपको घर भने निर्मलाको घरबाट करिब तीन किलोमिटर दुरीमा पर्दछ । उनि लामो समयदेखि लागूऔषध दुर्व्यसनी भएको र उनका बुबा–आमा समेत भारतमा बस्दै आएको सिआइबीका एक अधिकारीले जनाए ।
आइजिपी आफैं पुगे सोधपुछमा
निर्मला बलात्कार तथा हत्या प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं सोधपुछमा खटिएका छन् । काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सिआईबीमा पुगेको प्रहरी स्रोत बताउँछ ।
घटनामा उनको प्रबल सम्भावना रहेको ब्रिफिङका आधारमानै खनाल आफैं सोधपुछका खटिएका हुन् । विगतमा सिआईबीबाट भएको अनुसन्धान विवादमा परेकाले पनि आइजिपी आफैं सोधपुछमा खटिएका हुन् ।सोधपुछका क्रममा उनको संलग्नताको धेरै क्लुहरू मिलेको प्रहरी स्रोतले जनाएको छ ।