
कैलाली, मंसिर २० ।
बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका “निर्मलाको निम्ति न्याय” को माग राख्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको छ ।
बिहीबार धनगढीस्थित मुख्यमन्त्री कार्यालयको पर्खालमा बालिका निर्मलाको तस्वीर अंकित ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँस्न खोजिएको थियो । तर, प्रहरीले रोक लगाएपछि सरकार विरुद्ध नाराबाजी समेत गरिएको थियो ।
काठमाडौंबाट सुरु गरिएको पोस्टर अभियान धनगढीमा पनि सुरु गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएको हो । नागरिक समाज धनगढीको अगुवाइमा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालकी नेत्री हिसिला यमीले पनि सहभागिता जनाएकि थिईन ।
नेत्री यमीले घटना घटेको धेरै दिन बितिसक्दा पनि न्याय नपाउँदा राज्यमा सरकार भएको अनुभूति नै हराउन थालेको बताइन् । सरकारले पीडितलाई न्याय दिनुको साटो विभिन्न प्रपन्च रचेर घटनालाई मोड्न खोजीरहेको आरोप समेत लगाइन ।