काठमाडौं, मंसिर २६ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मार्ग शुक्ल पञ्चमी अर्थात विवाह पञ्चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेकी छन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो संस्कृति, हामी नेपालीको अमूल्य नीधि भएको समेत बताएकी छन् ।
नेपाल धार्मिक र सांस्कृतिक विविधताले सम्पन्न रहेको सन्देशमा उल्लेख गरेकी छन् । “प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले हामीहरुबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पुर्याएको छ । जसबाट हामीमा राष्ट्रिय एकताको भावना जागृत गरेको छ,” राष्ट्रपति भण्डारीद्वारा जारी गरिएको सन्देशमा उल्लेख गरिएको छ ।
आदिकालमा ज्ञान, शिक्षा र सांस्कृतिक वैभवले सम्पन्न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजर्षी जनकको महिमाको गायन युगौँयुगदेखि हुँदै आएको कुरा उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यस्तो गौरवपूर्ण स्थलमा हुने विवाह पञ्चमी महोत्सवको बेग्लै ऐतिहासिक महत्व रहेको र यसले हामीलाई सधैँ गौरवान्वित बनाइरहने समेत बताइन ।
विभिन्न क्षेत्र र भूभागमा बसोबास गर्ने जुनसुकै आस्था र विश्वास बोकेका सम्प्रदायको उत्साहपूर्वक सहभागिता हुने यस पावन अवसरले नेपालीहरुबीच आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव, सहिष्णुता र असल छिमेकी सम्बन्ध सुदृढ बनाउन मद्दत पुगोस् भन्ने कुरा उनले शुभकामना व्यक्त गरेकी छन् ।