काठमाडौं, मंसिर २६ ।
‘महिनावारी विश्रामको लागि समय छैन, प्रत्येक किशोरीले महिनावारीको समयमा अघि बढ्न सकून् भनेर सुनिश्चित गरौं’ भन्ने नारासहित राजधानीमा मंगलबार महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी एक कार्यशाला भएको छ ।
कार्यशालामा महिनावारीको समयमा सरसफाइमा कसरी ध्यान दिने भनेर नीति–निर्माता र सरोकारवालाहरुबीच बिस्तृत छलफल भएको थियो ।
समाजमा अहिलेपनि महिनावारीबारे महिला आफैं पनि खुलेर कुरा गर्न नसक्ने समस्याका कारण महिलाले कुनै न कुनैरुपमा समस्याहरु भोगिरहेका देखिन्छ ।
महिलाहरुमा सामान्यतया हेर्दा १३—१४ वर्षको उमेरदेखि महिनावारी सुरु हुने देखिन्छ । तर, खानपान र वंशाणुगत कारणले १०-११ वर्षको उमेरमा पनि महिनावारी सुरु हुने स्त्रीरोग विशेषज्ञहरु जनाउँछन् ।
नेपालमा अझैपनि महिनावारीको समयमा परिवारका सदस्यहरुलाई छुन हुँदैन भन्ने सामाजिक अन्धविश्वासले गतिलो जरो गाडीरहेकै पाइन्छ ।
अझ भनौ परम्परागत सोचका कारण सुदूरपश्चिमलगायतका विभिन्न जिल्लामा छाउपडी प्रथा हट्न सकिरहेको छैन । जसका कारण धेरै भन्दा धेरै महिलाहरुले ज्यानसमेत गुमाइसकेका छन् ।
सरकारले छाउपडी राख्नेलाई तीन महिना जेल र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरेपनि हालसम्म एकजनाको पनि उजुरी नआएको सरोकारवालाहरु बताउँछन् ।
महिनावारी स्वच्छता व्यवस्थापनका लागि सहज वातावरण नहुँदा महिनामा करिब पाँचदेखि सात दिनसम्म छात्राहरुको अध्ययनमा बाधा पुग्नुका साथै कतिले त बीचैमा पढाई छोड्ने गरेका पनि सरोकारवालाहरु बताउछन् ।
सरसफाइ सम्बन्धी गुरुयोजना–२०६८ मा महिनावारी तथा सरसफाइलाई समेटिएको भएपनि आशा गरेअनुसार त्यसबाट सफलता हासिल हुन सकेको छैन ।
त्यसको साथै हालैमात्र खानेपानी मन्त्रालयलेसमेत महिनावारी सरसफाइसम्बन्धी मस्यौदा तयार पारेको छ ।
नेपालमा महिनावारी हुँदा सरसफाइमा बिशेष ध्यान दिन नसक्दा स्वास्थ्य्सम्बन्धी बिभिन्न समस्या हुनुका साथै संक्रमण भइ ज्यानैसमेत जाने गरेको कहालिलाग्दो अवस्था रहेको देखिन्छ ।
घरमा किशोरीलाई महिलालेमात्र नभएर, परिवारका पुरुषले पनि महिनावारीकाबारेमा जानकारी राखेर सघाउनुप्र्ने कुरा सरोकारवालाहरुको छ ।
महिनावारीपनि महिलाहरुमा हुने अन्य शारीरिक परिवर्तनहरु जस्तै एक प्राकृतिक प्रकृया हो र यसबारे सामाजिक चेतना र जागरण अभिवृद्धि गर्दै सरसफाइसम्बन्धी कार्यक्रमलाईसमेत प्रभावकारी बनाउँदै जाँदा यसका नकारात्मक पक्षहरु धेरै नै कम गर्दै जान सकिन्छ ।