कन्चनपुर । कृष्णपुर नगरपालिका–३ देखतभूलीका एकै घरका दुई बालकको चाउमिन खाँदा शनिबार मृत्यु भएको छ ।
शुक्रबार बेलौरी स्थित मामाघर बिहेमा गएका १२ वर्षीय धन बहादुर सुनार र ८ वर्षीय टेक बहादुर सुनारको मुत्यु भएको हो । दुवै जना सदोहर दाजुभाइ हुन् ।
बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै जेठी आमा सीतादेवी सुनारले पकाएर दिएको चाउमिन खएर जाँदा दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि उनिहरुलाइ भर्ना गरिएको थियो ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने “बेलौरीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पुर्याए पनि दुवै जनाको अवस्था नाजुक भएपछि बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचारार्थ लैजाने क्रममा आज बिहान बाटोमै दुवै जनाको मृत्यु भएको हो ।”
ती दुवै बालकका बुबाको यसअघि नै मृत्यु भइसकेको छ । जेठो बुबा र आमाको आश्रयमा दुवै बालक बस्दै आएका थिए । मृत्यु भएका बालककी आमा भने जिबित नै छिन् ।
स्थानीयको दवावपछि प्रहरीले सुनारलाई शनिबार नियन्त्रणमा लिएको छ । दुवै बालकको मृत्यु भएपछि स्थानीय बासिन्दाले चाउमिनमा विषादी मिसाएर जेठो बुबा र आमाले मृत्यु गराएको आरोप लगाएपछि इप्रका झलारीले जेठो बुबा लक्षी सुनार र जेठी आमा सीता सुनारलाई पक्राउ गरेको छ ।
दुवै जनालाई हिरासतमा राखेर अनुसन्धानको कार्य चलिरहेको प्रहरी निरीक्षक अवस्थीले बताए ।
चाउमिनमा विषादी हालेर वा अन्य कुन कारणले बालकहरुको मृत्यु भएको भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन ।