नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द भएको छ। स्टार, सोनी, जी र कलर्सले भुक्तानी नपाएको भन्दै आफ्ना च्यानलको प्रसारण नेपालमा बन्द गरेका हुन्। आलाकार्ट लागू भएपछि अहिले भारतीय च्यानलको नेपाली वितरक वर्ल्डलिंकको सहायक कम्पनी हो। सेवा प्रदायकहरुलाई उसले नै च्यानलको कनेक्सन दिंदै आएको छ। स्रोतका अनुसार उसले भारतीय ब्रोडकास्टरलाई करिब १ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ।
प्रसारण रोकिएका च्यानलको डिस्प्लेमा सेवा प्रदायकहरुले च्यानल ब्रोडकास्टर र उनीहरुका स्थानीय वितरकबीच आर्थिक कारोबारमा समस्या देखिएको भन्दै च्यानल प्रसारण हुन नसकेको उल्लेख गरेका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना तथा प्रसारण विभागले गत फागुनदेखि आलाकार्ट मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो।
ग्राहकहरुले आफूले रोजेका च्यानलको मात्रै शुल्क तिर्नुपर्ने व्यवस्थासहित आलाकार्ट मूल्य प्रणाली ल्याइए पनि आइपीटिभी सेवा प्रदायकले कार्यान्वयन गर्न अटेरी गरेपछि सरकारले विदेशी मुद्रा सटही सिफारिस गर्न रोकेको थियो। विदेशी मुद्रा सटही सिफारिस रोकिएपछि नेपाली वितरकले भुक्तानी गर्न पाएन।
विभागले सेवा प्रदायकहरुलाई आवश्यक तयारी सकेर जानकारी गराउन ताकेता गरेपनि वितरकले अटेरी गरेका थिए। विभागले करिब ५ महिनाअघि नै सर्त पालना नगरे प्रसारण रोक्ने चेतावनीसहितको पत्र काटेको थियो।
तर, सेवा प्रदायकहरुले आलाकार्ट मूल्य प्रणाली कार्यान्वयनमा बेवास्ता गरिरहे। त्यसैको असर अग्रिम पैसा तिरिसकेपनि ग्राहकहरु चार वटा नेटवर्कका च्यानल हेर्नबाट वञ्चित भएका हुन्।