काठमाडौंदेखि बाराको निजगढ जोड्ने गरी निर्माण भईरहेको द्रूतमार्गको अर्को सुरुङ पनि छिचोलिएको छ । मकवानपुरको धेद्रे भन्ने स्थानमा खनिएको सुरुङ छिचोलिएसँगै सुरुङ निर्माणको कामलाई पनि सेनाले द्रूत रुपमा नै अघि बढाईरहेको देखिएको छ ।
काठमाडांै–तराई÷मधेश द्रुतमार्ग फास्ट ट्य्राकमा पर्ने मकवानपुरको धेद्रे सुरुङ छिचोलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विस्फोटक पदार्थको स्विच थिचेर सुरुङमार्ग छिचोल्ने काम गर्नुभएको हो । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा काठमाडौं–निजगढतर्फको १ दशमलव ७२८ किमी लामो सुरुङको ब्रेक थ्रु गरिएको हो । सरकारले राष्ट्रिय गौरबको आयोजना अन्तर्गत काठमाडौं–तराई द्रूतमार्गको जिम्मेवारी नेपाली सेनालाई दिएको छ ।
सेनाले २०७४ साउन २७ गते सडक विभागबाट यो आयोजनाको काम जिम्मा लिएर अघि बढाउँदै आएको छ । यस सडकमा थुप्रै छोटा सुरुङहरु निर्माण गर्नुपर्नेमा सेनाले गत जेठ ४ गते १ दशमलव ६५ किमिको सुरुङ छिचोलेको थियो । अहिले महादेवटार भन्ने स्थानमा निजगढतर्फ जाने २ वटा सुरुङ खन्ने काम जारी छ । यो सुरुङको ३ किलोमिटर ३ सय ८६ मिटरमध्ये २ किलोमिटर २ सय ८८ मिटर खनिसकिएको छ ।
त्यस्तै निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको ३ किलोमिटर ३ सय २२ मिटरमध्ये २ किलोमिटर २९ मिटर खनिसकिएको छ । सुरुङमार्ग ब्रेकथु्र गर्ने कार्यक्रममा प्रधानसेनापति प्रमुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे अवगत गराउनुभएको थियो ।
फास्ट ट्य्राकको कूल दूरी करिब ७१ किमि रहेकोमा ६४ दशमलव ४७ किमिको मात्र ठेक्का लागेर काम भईरहेको छ । ललितपुरको खोकना क्षेत्रको साढे ६ किलोमिटरको भने ठेक्का हुन सकेको छ्रैन । नेपाली सेनाका अनुसार कुल सडकमध्ये १० दशमलव ३० किमि सुरुङ र १२ दशमलव ८८ किमि पुलको दूरी हुने छ । सुरुङमार्ग ब्रेकथ्रु कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास निर्माणमा अघि बढिरहेको भन्ने सुरुङमार्गको निर्माणले पनि देखाउने जिकीर गर्नुभयो ।
पहाडी क्षेत्रमा २५ मिटर र तराईमा २७ मिटर फराकिलो हुने द्रूतमार्ग २०८३ को चैत भित्र निर्माण सम्पन्न गर्ने नेपाली सेनाको लक्ष्य छ । खोकना क्षेत्रमा रहेको विवाद भने अहिले पनि समाधान हुन सकेको छैन ।