काठमाडौं महानगरपालिकाले महानगरभित्रका होस्टेलमा रहेका विद्यार्थीको अवस्थाबारे अध्ययन तथा अनुगमन गर्ने भएको छ । महानगरको अनुगमन समितिले करिब ४० हजार विद्यार्थी यहाँका होस्टेलमा रहेको भन्दै उनीहरूको अवस्थाबारे अनुगमन गर्ने तयारी गरेको हो ।
महानगरका अनुसार अनुगमनका क्रममा होस्टेलहरू स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाभित्र रहेका छन् वा छैनन्, अध्ययन हुनेछ । यसबारे समितिले होस्टेल सञ्चालकहरूसँग पहिलो चरणको छलफलसमेत गरिसकेको छ । अब थप अनुगमन गर्ने तयारी भएको हो ।
यसै सन्दर्भमा सोमबार समितिका संयोजक एवं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले छात्रावासमा अवाञ्छित क्रियाकलाप हुने गरेको सूचना प्राप्त भएको र यस विषयमा संवेदनशील बन्दै मापदण्ड पालनामा प्रतिबद्ध हुन आग्रह गरेको छ ।
‘होस्टेलको अवस्था, सेवासम्बन्धी व्यवस्थासँगै बसोवास गर्ने छात्रछात्रा तथा अन्य को होस्टेलमा बसेको हो, व्यवस्थित सूचना अभिलेखबाट व्यवस्थापनको काम थालनी हुनेछ,’ उपमेयर डंगोलले भनिन्, ‘समूह विभाजन गरेर अनुगमन गरिनेछ ।’ उनले होस्टेलले आधारभूत सेवा सुविधा प्रदानका साथै अन्य नियम पालना हुनुपर्ने बताइन् । महानगरका अनुसार कतिपय होस्टेलले चारजना बस्न मिल्ने कोठामा २०औँ जना राखेको भेटिएको छ । आवासीय भवनलाई व्यावसायिक प्रयोजनमा समेत प्रयोग गरिएको छ ।
छात्रावास (होस्टेल)लाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन तथा छात्रावासमा बस्ने विद्यार्थी र सञ्चालकको अधिकतम हित गराउन छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड, ०८० जारी भएको छ ।