वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रेस विज्ञप्ति जारी गरी तोकिएभन्दा बढी मोल लिएमा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले २० लिटरको पानी भएको जारको बढीमा ४७ रुपैयाँ र बोतलको १६ रुपैयाँभन्दा बढी लिन नपाइने जनाएको छ।
अहिले पानी उत्पादक कम्पनीले फरक फरक मूल्य लिने गरेका छन्। आमउपभोक्तासँग बढी मूल्य लिने गरेका छन् भने व्यवसायी प्रतिष्ठानमा सस्तोमा बिक्री गर्दै आएका छन्।
यसमा पनि विभागले सचेत गराएको छ। सबै उपभोक्ताका लागि एउटै बिक्री मूल्य हुनुपर्ने जनाएको छ।
पानी उत्पादकहरूले होटल, रेस्टुरेन्ट, व्यावसायिक फर्मसँग सम्झौता गरी उही प्रकारका गुणस्तर, नापतौल परिणामको पानीमा फरक फरक बिक्री मूल्य लगाई बजारमा पठाउने गरेको पाइएको विभागले उल्लेख गरेको छ। अबदेखि यस्तो कार्य नगर्न विभागले चेतावनी दिएको छ।
विभागले तोकिएको मूल्यभन्दा बढी लिएमा वा फरक फरक मूल्य राखेर बिक्री गरेको भेटिएमा कारबाही गर्ने जनाएको छ।