काठमाडौं, पुस-०३ ।
प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसमा पदाधिकारी बढाउने र त्यसको निर्वाचन पद्दती के हुने भन्ने विषयको विवाद अझै टुंगो लाग्न सकेको छैन ।
कांग्रेस महासमितिको बैठकको मुख्य एजेन्डा विधान संशोधन गर्ने भए पनि पदाधिकारीका विषय टुंगो लाग्न नसक्दा अहिलेसम्म त्यसको छलफल नै प्रारम्भ भएको छैन । पदाधिकारी बढाउने विभिन्न विकल्पमा छलफल भएपनि अन्तिम सहमति जुट्न नसक्दा बैठकमा विधान संशोधन गर्ने विषयले प्रवेश पाउन नसकेको हो ।
पदाधिकारी संख्या ८ वा १२ बनाउने भन्ने विषयमा अहिले छलफल भइरहेको तर त्यसको निर्वाचन पद्दतीमा अझै कुरा मिल्न सकेको छैन ।
सभापति शेरबहादुर देउवा पक्षका नेता मनोनितको संख्या धेरै राख्नुपर्ने पक्षमा छन् भने अन्य पक्षका सबै निर्वाचित हुनुपर्नेमा अडिग छन् ।
पदाधिकारी विवादसँगै कार्यसमितिको म्यादका सम्बन्धमा समेत नेताहरुबीच कुरा बाझिएको छ । कांग्रेसको वर्तमान विधानमा असाधारण अवस्थामा चार वर्षे कार्यकाललाई पाँच वर्ष बनाउन सकिने कुरा उल्लेख छ ।
कांग्रेस महासमितिको बैठकबाट विधान पारित हुनसाथ कार्यन्वयनमा आउने भएकाले वर्तमान परिस्थितिलाइ असाधारण भन्न नमिल्ने पौडेल पक्षको मत छ भने असाधारण व्यवस्थाको परिभाषा वर्तमान विधानकै जस्तो नै हुने देउवा पक्षको मत छ ।
विधानको विषयमा छलफल गर्न बोलाइएको महासमिति बैठक सकिने दिन निजिकि सक्दा पनि विधान प्रस्तुत नभएपछि दलका सदस्यहरु भने पार्टी नेताहरुप्रति आक्रोसित भएका छन् ।
विधान टुंग्नो लाग्न नसकेपछि महासमिति बैठक केही बेरकालागि स्थगित गरिएको छ । अन्य प्रस्तावमा अब लगभग सहमतिबाटै टुंग्ने लाग्ने दिशामा महासमितिमा छलफल भए पनि विधान संसोधनको विषय भने थप पेचिलो हुदै गएको छ । नेपाली कांग्रेस पार्टी संसदीय दलको कार्यालयमा अहिले पनि विधानमा देखिएको असमझदारी हटाउन नेताहरु छलफलमा छन् ।