काठमाडौं, पुस-०३ ।
आज १८ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस । श्रमको सम्मान, राष्ट्रिय अभियान र सीपयुक्त जनशक्ति र स्वरोजगार: आर्थिक समृद्धिको मूल आधार भन्ने नाराको साथ नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाईंदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आप्रवासन दिवसका अवसरमा शुभकामना दिँदै दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मात्र देशले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । बर्षेनी लाखौं नेपाली युवा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता हटाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको दिनको सम्झनामा सन् २००० देखि विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन थालिएको हो ।
अहिले विश्वका करिव २५ करोड ८० लाख मानिस आप्रवासीका रुपमा रहदै आएको कुरा एक तथ्यांकले देखाएको छ ।
विश्वव्यापीकरण, औद्योगिकीकरण, सूचना र सञ्चारको विस्तार, आन्तरिक संघर्ष लगायतका बिभिन्न कारणले गर्दा विश्वमा आप्रवासीको संख्या बढ्दै गएको देखिएको छ ।