संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदुत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ ।
बिहीवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदुत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदुत सेवा लम्सालको उपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरेको हो ।
समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्ताव पारित भएसँगै उहाँले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिनुभयो ।
सभापति न्यौपानेले भन्नुभयो– ‘संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यमकामार्फत सार्वजनिक प्रस्ताव गर्दछु ।’
सुनुवाइ सम्पन्न भइसकेका प्रस्तावित राजदुतहरुको सम्बन्धमा निर्णय लिनका लागि समितिको बैठक जारी छ ।