अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ।
सडक विभागले आज दिउँसो १२ बजेसम्म संकलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन्।
प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन्भने काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले राससलाई जानकारी दिए।
‘ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन्। विद्युत् तथा इन्टरनेट सम्पर्क विच्छेद हुँदा सबै विवरण संकलन गर्न पनि सकिएको छैन। यो प्रारम्भिक विवरण मात्रै हो’, अर्यालले भने, ‘पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष राखिएको बेलिब्रिज बगाएको छ। अरनिको राजमार्गको लार्चा भन्ने स्थानको बेलिब्रिज र बिपी राजमार्गको खुर्कोटबाट मन्थलीतर्फ जाने बाटोको पुल बगाएको छ।’
कुलेखानी जलविद्युत् आयोजनाको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल उच्च जोखिममा परेको अर्यालले बताए। बिपी राजमार्गमा नेपालथोक भन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले एक सय मिटर जति बाटो बगाएको छ।
अहिले काठमाडौ उपत्यका छिर्ने सबै बाटो बन्द अवस्थामा रहेको अर्यालले जानकारी दिए। धेरै नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिमको अवस्थामा रहेका उनले बताए।
सडक विभागका अनुसार त्रिभुवन राजपथ पूर्ण अवरुद्ध छ। सिर्सिया–पथलैया–हेटौँडा–भैँसे–पालुङ–नौबिसे–काठमाडौं खण्डमा पनि पहिरोका कारण राजमार्ग बन्द भएको हो। त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन–पोखरा राजमार्ग अवरुद्ध छ । धादिङको कमेरे भन्ने स्थानमा पहिरो गएपछि उक्त सडक अवरुद्ध भएको हो।
अरनिको राजमार्गअन्तर्गत काठमाडौं–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी राजमार्ग पनि अवरुद्ध भएको छ। उक्त राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लार्चा पुल बगाएपछि यातायात सञ्जाल पूर्ण विच्छेद भएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले जानकारी दिए।
त्यसैगरी, कालीगण्डकी करिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकमा पर्वतको केराबारी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। उक्त सडकखण्डअन्तर्गत गुल्मीको राक्स्या र बरल्ला क्षेत्रमा पनि पहिरो खसेको छ।
राप्ती राजमार्गअन्तर्गत अमेलिया–शीतलपाटी–थारमारे मुसिकोट खण्डअन्तर्गत सल्यानको राम्री भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक अवरुद्ध छ।
पुष्पलाल (मध्यपहाडि राजमार्ग) अन्तर्गत ओखलढुंगाको भडारे क्षेत्रमा पहिरो जाँदा सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छभने भेडेटार–रबि–राँके सडकअन्तर्गत पाँचथर जिल्लामा सडक अवरुद्ध छ।
सडक डिभिजन नुवाकोटअन्तर्गत ठोरी–भण्ठारा–मलेखु–गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी खण्डअन्तर्गत घादिङको भुट्टार क्षेत्रमा तथा बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी खण्डअन्तर्गत नुवाकोटको ३५ किलो र ताँदी पुलमा आएको बाढीका कारण सडक अवरुद्ध भएको विभागले जनाएको छ।
भेरी करिडोरअन्तर्गत छिन्चु–कुदु–जाजरकोट–दुनै–तिन्जे–मरिम सडकखण्डमा पश्चिम रुकुमको त्रिवेणी भन्ने स्थानमा सडकमा पहिरो खसेको छ। यो सडकखण्डअन्तर्गत जाजरकोट जिल्लाको नमूना बस्ती क्षेत्रमा पनि बाढी र पहिरोका कारण समस्या देखिएको विभागले जनाएको छ।