
पूर्वराजा ज्ञानेन्द्र शाह र भूटानका राजा जिग्मे केशर नामग्याल वाङचुकका बुवा एवं निवर्तमान राजा जिग्मे सिग्मे वाङचुकबीच भेटवार्ता भएको छ ।
सपरिवार भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र वाङचुकबीच शुक्रबार थिम्पुस्थित डेचेन छोलिंग राजप्रसादमा भेट भएको थियो ।
सेन्ट जोसेफ कलेजका एलुम्नाई र सहपाठी पनि समेत रहेका शाह र वाङचुकबीचको भेटपछि भुटानी जिज्यु मुमा बडामहानीसँग पनि भेट भएको थियो ।
शाहले थिम्पुमा राजा जिग्मे केशर नामग्याल वाङ्चुककी ९४ वर्षीया हजुरआमा महारानी केसाङ छोदेनलाई भेट गरेका हुन् । उक्त अवसरमा पूर्वराजा ज्ञानेन्दका छोरी प्रेरणा र भतिजी शितास्मा पनि सहभागी थिए ।
पूर्वराजा ज्ञानेन्द्र छोरी प्रेरणा, भतिजी शितास्मा शाह र सचिवालयका केही सहयोगीहरूसहित बिहीबार भुटान गएका थिए ।
पूर्वराजा शाहलाई पारो विमानस्थलमा भुटानकी राजकुमारी पेम ल्हादेन पेम वाङचुकले स्वागत गरेकी थिइन् ।
पूर्वराजा शाह आइतबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
