Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

गण्डकीमा डेंगुबाट सातको मृत्यु

Reporter

 डेंगु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो ।

त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए । उनका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेंगु सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । पोखरा महानगरपालिकामा मात्रै हालसम्म छ हजार चार सय ५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

गत जनवरीमा जम्मा ७० जनामा डेंगु देखिएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको सङ्ख्या बढेर साढे १२ हजारभन्दा माथि पुगेको हो । अधिकृत शर्माले गत जुलाईयता डेंगुको सङ्क्रमण दर बढ्दै गएको बताए। जुलाईमा सात सय २८, अगष्टमा चार हजार ८३, र सेप्टेम्बरमा छ हजार सात सय २० जनामा डेंगु देखिएको उनले जानकारी दिए ।

तथ्यांक अनुसार सबैभन्दा बढी कास्कीमा छ हजार पाँच सय ४८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो ।  तनहुँमा २८ सय ६१, पर्वतमा एक हजार एक सय ४६, गोरखामा छ सय ६४, बागलुङमा पाँच सय ३९, स्याङ्जामा चार सय ४३, म्याग्दीमा दुई सय १३, नवलपुरमा एक सय ८१, लमजुङमा एक सय २० र मुस्ताङमा नौ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

असारदेखि कात्तिकसम्म डेंगु सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेंगु सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । समयमा उपचार नभए डेंगुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरूको सुझाव छ । डेंगुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने सुझाव दिइएको छ ।

डेंगु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टेले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेंगुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको