Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

एसइई परिक्षाको तयारी पूरा प्रतिनिधि सभाको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीमा आईजिपीको टुंगो लाग्ने मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ

आज फूलपाती, देवीको मन्दिर तथा दशैं घरहरुमा फुलपाती भित्र्याइँदै

Reporter

प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ। फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता पर्देन ।

हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा रहदै आएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीव्र हुने गर्छ । नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्छ ।

नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्छ । आज बिहानैदेखि देवीका मन्दिर एवम् शक्तिपीठमा श्रद्धालु भक्तजनको भिड लागेको छ ।

आश्विन शुक्ल पक्षमा शक्तिपीठमा गई पूजा आराधना एवम् साधना गरेमा देवी प्रसन्न भई मनोकामना पूर्ण गर्नका लागि भक्तजनलाई आशीर्वाद दिन्छिन् भन्ने धार्मिक विश्वास छ । काठमाडौँ उपत्यकाका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, वज्रबाराही, दक्षिणकाली, श्वेतबाराही, धूम्रबाराही, चामुण्डा, सुन्दरीमाई लगायत शक्तिपीठमा पूजाआजा एवम् बलिसहित विशेष पूजा गर्ने भक्तजनको पनि भिड लागेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको