काठमाडौं, पुस ५ ।
एभरेष्ट प्रिमियर लिग अन्तर्गत बिहीबार भएको एलिमिनेटरको खेलमा काठमाडौं किंग्स–११ लाई हराउँदै भैरहवा ग्ल्याडिएटर्स फाइनलमा प्रवेश गरेको छ । काठमाडौंले दिएको एक सय एक रनको लक्ष्य भैरहवाले ४ विकेटको क्षतिमा १७.४ ओभरमा पुरा गरेको हो ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाडौंलाई ६ विकेटले हराउँदै शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रियट्सविरुद्ध उपाधि भिडन्त तय गरेको हो ।
खेलमा काठमाडौंले दिएको १०१ रनको चुनौती भैरहवाले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
भैरहवाका लागि नेदरल्यान्ड्सका खेलाडी रायन टेन डोस्चेटले ४५ रन बनाउँदा भारतका रवीइन्दर सिंहले ३१ रन जोडे ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा अलआउट हुँदै १०० मात्रै बनाएको थियो ।
काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक २७ रन बनाउँदा भारतीय खेलाडी प्रदीप साहुले २५ रन बनाए ।
बलिङतर्फ भैरहवाका कुशल मल्लले ३ तथा मोहम्मद नाभिदले २ विकेट लिए ।
यो जितसँगै भैरहवाले ललितपुर प्याट्रियट्सविरुद्धको फाइनल भिडन्त तय गरेको छ ।
प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई हराउँदै ललितपुर फाइनलमा पुगेको थियो ।
फाइनल खेल त्रिवि क्रिकेट मैदानमा आउँदो शनिबार दिउँसो १ बजे हुनेछ ।