काठमाडौ । फेसन डिजाइनरका रूपमा आफूलाई अग्रपंक्तिमा राख्दै अघि बढिरहेको नाम हो रञ्जिता गुरुङ । चितवनकी रञ्जिता यतिबेला ललितपुरमा रहेर आफ्ना क्रियशन पस्किरहनुभएको छ । फेसन डिजाइनसँगसँगै रञ्जिता फाउण्डेसनमार्फत् उहाँले सामाजिक कार्य पनि गर्दै आउनुभएको छ ।
विगत ६ वर्षदेखि निरन्तर फेसन डिजाइनरका रूपमा आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आउनुभएकी उहाँ आकर्षक फेसन डिजाइन सिकेर अघि बढेको बताउनुहुन्छ । जुनसुकै क्षेत्रमा आफू सेल्फ डिपेन्ड भएको राम्रो बताउनुहुने उहाँ घुमघाम र चलचित्र हेर्न मन पराउने बताउनुहुन्छ । ‘फेसन भनेको आफूलाई अरूभन्दा राम्रो र फरक देखाउने तरिका हो ।
मानिसहरूको फेसनले उनीहरूको व्यक्तित्व झल्काउँछ, आफूलाई कस्तो सुहाउँछ, कसरी राम्रो लुक्स आउँछ भन्ने कुरामा ध्यान दिनुपर्छ,’ उहाँ भन्नुहुन्छ । देश विदेशमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएकी उहाँ पछिल्लो समयमा आममानिसमा फेसन र सौन्दर्यचेत बढ्दै गएको बताउनुहुन्छ । रञ्जिताका कार्यले तारिफ बटुलिरहँदा उहाँलाई विभिन्न मान(सम्मानहरू पनि प्राप्त भएका छन् ।