पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । मनाङेलाई काठमाडौंको सानो भर्याङबाट पक्राउ गरिएको हो ।
सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य मनाङे अर्थात राजीव गुरुङलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेपछि उनी फरार थिए।
गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो ।
उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।
उनलाई प्रहरीले काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो।
सर्वोच्च अदालतले उच्च अदालत पाटनले गरेको ५ वर्ष कैदलाई सदर गर्ने फैसला सुनाएपछि उनी फरार सूचीमा परेका थिए। सर्वोच्च अदालतले मंगलबार फैसला सुनाएपनि फैसलाको पूर्णपाठ भने सार्वजनिक गरेको छैन। फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि उनको सांसद पदबारे कार्यान्वयनमा जाने छ।
निर्वाचनसम्बन्धी ऐनको दफा १३ मा सांसद पदको अयोग्यता सम्बन्धी व्यवस्था रहेको छ। उक्त ऐनको उपदफा ६ मा मनाङेको हकमा मिल्ने व्यवस्था छ। उक्त उपदफामा खण्ड ‘घ’ र ‘ङ’मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा ५ वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको व्यक्ति अयोग्य हुने भनिएको छ।