नेपाली फिमेल फिल्म मेकर्स (एनएफएफ) ले यही कार्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म चावहिलस्थित फिल्म विकास बोर्डमा महिला फिल्म निर्माताहरूका लागि आयोजना गरेको सिनेमाटोग्राफी कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यशालाका लागि १३० जना इच्छुक फिल्म मेकरहरूबाट आवेदन प्राप्त भएको आयोजक संस्थाले जनाएको छ । फिल्म निर्माण सम्बन्धि प्राथमिक ज्ञान तथा कार्यशालाबाट लाभ उठाउने सम्भावनालाई आधार बनाएर गरिएको छनौट प्रक्रियापछि १२ जनालाई कार्यशालामा सहभागी गराइएको थियो ।प्रशिक्षार्थीहरूलाई शिशिर बिसंखे, अमर महार्जन तथा भारतबाट आएका बर्खा मुखिया, उज्जल बस्ताकोटी, चक्र बहादुर महर्जन, रोमी तण्डुकार, सञ्जीव रत्न शाक्य तथा मुनमुन धरालियाजस्ता अग्रणी उद्योग विशेषज्ञहरूले मार्गदर्शन गरेका थिए ।
कार्यशालामा सोनी एफएक्स सिक्स तथा एफ एक्स नाइन फिल्म क्यामेराको प्रयोगसहित सिनेमाटोग्राफीका विभिन्न पक्षहरू जस्तै प्रकाश व्यवस्थापन, रंग, सम्पादन तथा ध्वनि डिजाइनमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।
सहभागीहरूले फिल्म कथा वाचनको गहिरो ज्ञान पाउन चलचित्र विकास बोर्डको हलमा आयोजित विभिन्न शत्रहरूमा भाग लिए र प्रत्येक दिनको अन्त्यमा स्क्रिनिङ र छलफलहरू गरिएको थियो । कार्यक्रममा आयोजक एनएफएफले फिल्म निर्माताहरू र नेपाली फिल्म उद्योगका अग्रजहरुसंग सञ्जाल विस्तार गर्ने कार्यक्रमको आयोजना गरिएको थियो ।
काठमाडौंस्थित अमेरिकी दूतावासको प्रायोजनमा आयोजित यस कार्यक्रमले सहकार्य र ज्ञान आदानप्रदानका अवसरहरू सिर्जना गरेको आयोजक संस्थाको भनाइ छ । आयोजक संस्थाले नेपाली फिल्म उद्योगमा समावेशितालाई प्रोत्साहित गर्न महिला फिल्म मेकरहरूको डेटाबेसको सफ्ट लञ्चसमेत गरेको थियो ।
कार्यशालामा ग्लोबल मिडिया मेकर्सको समेत सहकार्य रहेको थियो, जुन फिल्म इन्डिपेन्डेन्ट र अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ एजुकेशनल एण्ड कल्चरल अफेयर्सको साझेदारी हो । यो कार्यक्रम चलचित्र विकास बोर्ड नेपाल, शान्ता फाउन्डेसन, अमेरिकी दूतावास, नेपाल र फोटोन फिल्म्सको साझेदारीमा सम्पन्न भएको हो ।
नेपाली फिमेल फिल्म मेकरहरूको बारेमा २०१९ मा स्थापना भएको एनएफएफले दृश्य माध्यममार्फत कथा वाचनका लागि प्रशिक्षण, स्रोत र मञ्चहरू उपलब्ध गराउँदै महिला फिल्म निर्माताहरूलाई सशक्त बनाउने काम गर्दै आएको छ । किम्फ महोत्सव, ब्रिटिश काउन्सिल, र टास्कोव्स्की फिल्म्स जस्ता प्रतिष्ठित संस्थाहरूसँगको सहकार्यमा एनएफएफले फिल्म निर्माणका सबै क्षेत्रमा लैङ्गिक समानतालाई प्रोत्साहन गर्ने प्रयास गरिरहेको छ । हाल यो संस्थाले महिला फिल्ममेकरहरूको लागि एक सार्वजनिक पहुँचयोग्य डेटाबेस विकास गरिरहेको छ, जसले महिलाहरूका लागि दृश्यता र अवसरहरूमा वृद्धि ल्याउने छ ।