Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष

Reporter

नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीबीच तीनदिन देखि जारी  उच्चस्तरीय बैठक आज सम्पन्न भएको छ । उक्त बैठकले सीमापार हुने अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।

तीन दिनसम्म बसेको बैठकले दुवै देशको संयुक्त प्रयासमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै सीमाबाट हुने अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्ने निर्णय गरेको हो ।

गत शनिबार सुरु भएको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक अमृतमोहन प्रसादले ११ वटा एजेण्डामा छलफलपछि संयुक्त हस्ताक्षर गरेका हुन् ।

संयुक्त प्रतिबद्धतापत्रमा सीमापार अपराध नियन्त्रण तथा सीमा सुरक्षाका विषयमा सहकार्यका गर्ने विषय समावेश छन् ।

बैठकमा सहभागी गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले बैठकले सीमा अपराध नियन्त्रण, सूचना आदानप्रदान, राजस्व चुहावट नियन्त्रण, लागुऔषध तस्करी र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रणलगायतका विषयमा थप प्रभावकारी कदम चाल्ने निष्कर्ष निकालेको जानकारी दिए ।

उनका अनुसार नेपालको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको बैठकले सीमा सुरक्षालाई अझै व्यवस्थित बनाउने, दशगजा क्षेत्रलाई अतिक्रिमणमुक्त पार्ने, मानव बेचबिखन, सुन तस्करी नियन्त्रणमा संयुक्त पहल गर्ने विषयमा पनि संयुक्त हस्ताक्षर भएको छ ।

बैठकमा नेपालका तर्फबाट सशस्त्रका महानिरीक्षक अर्यालसहित उच्च सुरक्षा अधिकारी, गृह मन्त्रालय, नेपाल प्रहरी, अनुसन्धान विभाग, नापी विभाग, परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता रहेको थियो । भारतका सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक अमृतमोहन प्रसादको नेतृत्वमा छ सदस्यीय टोली सहभागी थियो ।

बैठकमा भारतीय पक्षले तेस्रो मुलुकका नागरिकको पहिचानमा समस्या भएकाले आपसी सहकार्य जरुरी रहेको धारणा प्रस्तुत गरेका थिए । यस्तै भारतले तेस्रो मुलुकबाट नेपाल हुँदै भारतमा सुन तस्करी भइरहेकाले त्यसको नियन्त्रणमा सहकार्य जरुरी भएको औँल्याएको छ ।

उक्त बैठक हरेक वर्ष पालैपालो नेपाल र भारतमा हुँदै आएको थियो । अब भने हरेक छ, छ महिनामा पालैपालो बैठक बस्ने प्रस्तावसमेत पारित भएको छ । सीमा सुरक्षा अधिकारी र जिल्ला जिल्लाका अधिकारीको बैठक नियमितरुपमा बस्ने विषयमा पनि दुवै पक्ष सहमत भएको जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको