नेपाली फेशन डिजाइनरमा आफूलाई अग्रपंक्तिमा राख्दै आउनुभएको छ निमा शेर्पाले । काठमाडौंको गोकणेश्वरमा जन्मिनुभएका निमा नेपाली फेशन डिजाइनमा अब्बल रूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ । उहाँले फशेन डिजाइनमा विभिन्न अवार्ड पनि प्राप्त गर्नुभएको छ । निमालाई हालै २०२४ मा ग्लोवल एक्सिलेन्स अवार्ड प्रादन गरिएको थियो ।
फेशन डिजाइन सांस्कृतिक र सामाजिक अकांक्षबाट प्रभावित हुने बताउनुहुने निमा पछिल्लो समय यो क्षेत्रमा व्यापकता आएको सुनाउनुहुन्छ । नेपाली आर्ट क्लचर र फेशनलाई अन्तर्राष्ट्रिय रूपमा पहिचान दिलाउने उद्देश्यले आफूले काम गरिरहेको बताउनुहुने उहाँ हरेक वस्तुलाई आकर्षण र फरक तरिकाले प्रस्तुत गर्नु नै फेशन रहेको बताउनुहुन्छ ।
‘फेशनप्रति मानिसहरूको सोचाइ हरेक दिन संसारभर परिवर्तन हुन्छ । फेशनले यो परिवर्तनशील प्रवृत्तिमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । ‘फेशानलाई लिएर बजारमा विभिन्न किसिमका परिवर्तनहरू देखिने गरेका छन् । फेशनको यो युगमा मानिसहरू आफ्नो लुगा र स्टाइलमा धेरै ध्यान दिन थालेका छन्, चाहे त्यो धनी होस् या अन्य वर्ग । नेपालीहरूमा पनि यसप्रति सचेतना बढ्दै गएको छ,’ उहाँ भन्नुहुन्छ ।
फेशन डिजाइनका लागि रचनात्मक दिमाग र फेशनको भावना हुनुपर्ने बताउनुहुने निमा भन्नुहुन्छ, ‘यदि तपाईंसँग रचनात्मक दिमाग र फेशनको भावना छ भने, यो क्षेत्र तपाईंको लागि हो । यस क्षेत्रमा प्रवेश गर्न, तपाईं विभिन्न उपलब्ध पाठ्यक्रम गरेर एक पेशेवर फेशन डिजाइनर बन्न सक्नुहुन्छ ।’
फेशन डिजाइनिङलाई नेपाली समाजमा आकर्षक पेशाका रूपमा लिन थालिएको छ । नेपाली युवाहरू बढ्दो संख्यामा यस पेशामा तानिएका छन् । फेशन भन्नासाथै सुन्दर र चिटिक्क देखिने गरी लगाउने पोशाकलाई बुझिन्छ । शरीरलाई सुहाउने पहिरनमा सजिएर अरुलाई मोहित बनाउन जो पनि चाहन्छन् । फेशन डिजाइन भनेको शरीर सुहाउँदो पहिरन बनाउने कला हो । यद्यपि, यो पहिरनको डिजाइनमात्र होइन ।
यसभित्र ग्राफिक डिजाइनदेखि हेयर डिजाइनिङ, मेकअप, फोटोग्राफी, मोडलिङ, कोरियोग्राफी, र्याम्प वाकिङलगायत विषय समावेश छन् ।
युवाहरूको ठूलो युवा जमात अहिले काठमाडौंमा फेशन डिजाइनिङमा तानिएको निमा बताउनुहुन्छ । ‘फेशन जति आधुनिक विषयजस्तो लाग्छ, त्यत्तिकै सांस्कृतिक र सामाजिक विषयवस्तुको प्रभावमा पनि परेको हुन्छ । समय र स्थानले पनि फेशनको टे«न्डलाई जोड्छ र मोड्छ’ निमा भन्नुहुन्छ, ‘पहिलो त यसलाई अभिभावक छाडा विषय मान्थे, अहिले त अभिभावक नै आफ्ना छोराछोरीले यसमा भविष्य खोजेकोमा गर्व मान्न थालेका छन् ।’
ट्रेण्डलाई सुरु गर्नेदेखि परिमार्जनमार्फत निरन्तरता दिने खुबी फेशन डिजाइनरमा हुनुपर्छ । बढ्दो र मौलाउदो फेशन बजारको मागलाई बुझ्न र व्यावसायिक रूपमा अंगाल्नका लागि यो सीप सिक्न आवश्यक छ । ‘केही वर्षयता नेपालमा फेशन डिजाइनिङ क्षेत्रमा आफ्नो भविष्य खोज्नेहरूको संख्या बढिहेको छ । फेशन डिजाइनिङको क्षेत्र आफैंमा ग्ल्यामरस पनि छ । नाम र दाम पनि सँगै कमाउन सकिने क्षेत्र भएकाले धेरै यसमा आकर्षित बनेका छन्’, निमा भन्नुहुन्छ ।