Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

चार संसदीय समितिको बैठक बस्दै गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको रिहाइ माग गर्दै जुलुस

Reporter

पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका हजारौं कार्यकर्ताको जुलुस राजधानी इस्लामाबाद प्रवेश गर्ने नाकामा पुगेको छ ।

सरकारले नै सडक बन्द गर्दै विभिन्न अवरोध सिर्जना गरे पनि हजारौं मानिस इस्लामाबादको ढोकैमा पुगेका समाचार संस्था एएफपीले जनाएको छ । पीटीआईका कार्यकर्ताले सबै खालका अवरोध तोड्दै अघि बढिरहेका छन् । हिजो भएको झडपमा एक जना प्रहरीको ज्यान गएको छ भने नौ जना गम्भीर घाइते भएका छन् । प्रहरीले रबरका गोली र अश्रुग्यास हान्दा सयौं आन्दोलनकारी घाइते भएका छन् ।

देशका अरू ठूला शहरमा पनि विशाल प्रदर्शन भइरहेका छन् । गएको शनिवार रातिदेखि राजधानी प्रवेश गर्ने सबै नाका सरकारले नै बन्द गरेको छ । मोबाइल इन्टरनेट छिटपुट रूपमा काटिएको छ । पाकिस्तानको मानव अधिकार आयोगले राजमार्ग बन्द गरेर राजधानी आउजाउ गर्ने पहुँच रोक्नुले आमनागरिकलाई सरकारले नै दण्डित गरिरहेको उल्लेख गरेको छ ।

सडकमा हतियारसहितका २० हजार जनाभन्दा धेरै प्रहरी, ब्यारिगेड र ट्रक तेर्स्याएर सरकारले ठूलै युद्धको झल्को दिएको डन अखबारको सम्पादकीयमा उल्लेख छ । गएको हप्ता इस्लामाबाद शहर प्रशासनले सार्वजनिक जमघटमा दुई महिनाको प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

अन्यायपूर्वक जेलमा राखिएका इमरान खानको रिहाइ नभएसम्म सडक नछाड्ने आन्दोलनकारीले बताएका छन् । सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीको रूपमा काम गरेका इमरान खानलाई गएको वर्षदेखि भ्रष्टाचार र दङ्गा भड्काउने लगायतका कानूनी आरोपहरू लगाएर जेलमा थुनिएको छ । यस वर्षको चुनावमा पीटीआईले सबैभन्दा धेरै सिट जिते पनि सैन्य प्रभावमा बढी लचिलो मानिने दलहरूको गठबन्धनले उसलाई सत्ताबाट बाहिर राखेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको