
पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशीमा शतबीज छर्ने र बत्ती बाल्ने कार्यको सम्पूर्ण तयारी भएको जनाएको छ। कोषले काठमाडौं जिल्ला प्रशासन र महानगरपालिकासहितको सहयोगमा सबै तयारी पुरा भएको जनाएको हो।
बत्ती बाल्न र शतबीज छर्नका लागि देशभरबाट श्रद्धालु काठमाडौं आउने क्रम सुरू भइसकेको छ। मार्गशीर्ष कृष्ण त्रयोदशी आज (शुक्रबार) पितृका नाममा बत्ती बाल्ने गरिन्छ। पशुपतिनाथमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बस्ने चलन छ। शनिबार (चतुर्दशी) बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने परम्परा छ। यसरी बत्ती बालेर रातभर जाग्राम बसी शतबीज छर्दा पितृले सद्गति पाउने विश्वास छ।
मातापिता दिवंगत भएको एक वर्ष नपुगेकासहित वर्षदिन पुगिसकेकाले बत्ती बाल्ने शतबीज रोपण गर्ने चलन छ। मातापिता दिवङ्गत भएको एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीपदान एवं शतबीजरोपण गर्न नहुने धार्मिक मान्यता छ।
सामान्यतया लगातार तीन वर्ष बत्ती बाल्ने र शतबीजरोपण गर्ने चलन छ। पहिलो वर्ष दियोमा, दोस्रो वर्ष मानामा बत्ती बाल्ने र तेस्रो वर्ष महादीप बालेर समापन गर्ने चलन चलेको देखिन्छ। १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ।