वीरगन्ज, पुस- ९ ।
वीरगञ्ज महानगरपालिकाका आठवटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको सरुवा प्रकरणलाई लिएर विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन ।
महानगरपालिकाले राजनीतिक उद्देश्यका साथ प्रधानाध्यापकहरुको सरुवा गरेको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएका हुन ।
शिक्षक संगठनहरुले भने दुई दिनसम्मका लागि महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गरेका छन् ।
वीरगञ्ज महानगरपालिकाले भने प्रधानाध्यापक सरुवाको निर्णय कुनैपनि हालतमा फिर्ता नलिने बताएको छ ।
महानगरपालिका प्रमुख विजय सरावगीले प्रधानाध्यापकहरुले शैक्षिक अवस्था तहसनहस पारेको , अंग्रेजी माध्यमको नाममा अभिभावकसँग चर्को शुःल्क असुल्दै आएको, विद्यालयलाई राजनीतिक अखडा बनाएको तथा माफियातन्त्र लाद्न खोजेकाले शुद्धीकरण अभियानअन्तर्गत सरुवा गरिएकोे दाबी गरेका छन ।
प्रधानाध्यापकहरुको सरुवा प्रकरणले गर्दा महानगरभित्र सामुदायिक विद्यालयमा अध्यनरत २० हजार १ सय ८५ जना विद्यार्थीको पठन पाठनमा प्रत्यक्ष असर परेको छ ।