
काठमाडौं, पुस- ९ ।
बुटवल उपमहानगरपालिकाका वडासचिव घुससहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले वडानम्बर १३ का सचिव भरत काउचालाई सेवाग्राहीबाट ५ हजार घुस लिंदै गरेको अवस्थाबाटै पक्राउ गरेको हो ।
बुटवल उपमहानगरपालिका गेट अगाडिको एक रेष्टुरेन्टमा उनले रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जानकारी दिएको छ ।
काउचाले पञ्जीकरण जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाको दर्तामा सेवाग्राहीसँग घुस लिएको जनाइएको छ । काउचाले यस्ता विषयमा घुस लिने गरेको गुनासो अख्तियारसम्म पुगेपछि उनी पक्राउ परेका हुन् ।
एक दशकदेखि बुटवल उपमहानगरपालिका बिभिन्न शाखामा रहेर काम गरेका काउचा पछिल्लो समय बडानम्बर १३ को सचिवका रुपमा कार्यरतरहदै आएका थिए ।
अख्तियारको टोलीले काउचालाई पक्राउ गरी उनको पसल सिल गर्न लागेको प्रहरीले बताएको छ ।
