![](https://www.rastrakhabar.com/wp-content/uploads/2024/12/purushottam-jabara.jpg)
काठमाडौं ।
प्रसिद्ध नेपाली इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ । बिहिवार ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९९ सय वर्षीय राणाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । रक्तचाप कम भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।
आखिर को हुनुहुन्छ त इतिहासकार राणा ?
पाल्पाली नेता अतिरथी रूद्र शमशेर ज.ब.रा का नाती पश्चिम तराईतर्फका प्रजातान्त्रिक योद्धा महासेनानी ईश्वर शमशेर ज.ब.रा.का छोरा इतिहासकार पुरूषोत्तम शमशेर ज.ब. रा.को जन्म वि.स. १९८२ चैत्र १५ गते काठमाडौँमा भएको हो । तत्कालीन जहानिया शासकको प्रतिबन्धका कारण उहाँले पाल्पा दरबारमै अध्ययन गरी यु.पी. बोर्डबाट एस.एल.सी. उत्तीर्ण गर्नुभयो ।
उच्च शिक्षा हासिल गर्ने क्रममा भारतको वाराणसी स्थित जयनारायण कलेजबाट इन्टर मिडिएट- “Intermediate” उत्तीर्ण गर्नुभयो । उहाँ बनारस हिन्दू विश्वविद्यालय (BHU) मा बि.कम. पढ्दा पढ्दै क्रान्तिमा संलग्न हुनुभयो । तत्कालीन समयमा इतिहासकार पुरूषोत्तम शमशेर ज.ब.रा. लाई प्रजातान्त्रिक आन्दोलनमा समर्पित हुने प्रेरणा आफ्नै जिज्यू बुबाज्यू रूद्र शमशेर लगायत सम्पुर्ण परिवारबाट प्राप्त भयो। तत्कालीन जहानिया राणा शासकले उहाँहरूको परिवारलाई काठमाडौबाट निष्काशन गरे पश्चात् जहानिया शासकहरूसँग उहाँलाई बदलाको भावना जागृत भयो । सोही क्रममा क्रान्तिका चेतना भएका राणालाई प्रजातान्त्रिक पद्धतिका पुस्तकहरू अध्ययन गर्ने हवसर मिल्यो साथै, आफ्नो बाल्यकालमा हमेसै नजिक रहेका धर्मभक्त माथेमा (जसको बाजुमा उहाँ बराबर झुन्डिने गर्नुहुन्थ्यो) र दशरथ चन्द ठकुरी (जसले बराबर ‘लाखामरी’- ‘गोजामरी’ खुवाउनुहुन्थ्यो) को प्रेरणा पनि त्यतिकै महत्वपुर्ण रहयो ।
वि.स. १९९७ सालमा माथेमा र ठकुरी (अमर शहिदहरू)-लाई तत्कालीन शासकहरूले फाँसी दिएको सुचनाले इतिहासकार राणालाई मर्माहित बनायो । उक्त बलिदानी घटनाक्रमले उहाँभित्र थप शक्ति प्रदान गर्यो । जसले गर्दा त्यस समयमा उहाँ प्रजातान्त्रिक पद्धतिद्धारा जहानिया शासनतर्फ गलकोट, भीरकोट, गरङ्गकोट, स्याङ्जा, नुवाकोट, प्युठान, पोखरा, बाग्लुङ्ग, हर्पे, बुर्तिवाङ्गसम्म तथा तराईतर्फ बुटवल, भैरहवा र परासीसम्म जनचेतना जगाउने तर्फ लाग्नुभयो ।
आन्दोलनलाई थप सशक्त बनाउन उहाँले पाल्पा दरबारमा ट्रान्समिसन “Transmission” राखी काठमाडौमा र भारतको कलकत्तामा सम्पर्क राख्नुभयो जसले गर्दा उक्त समयमा बी.पी. कोइरालालाई भारतबाट लुकाई पाल्पा दरबारमा ल्याएर त्यस भेगका प्रजातान्त्रिक कर्मठ व्यक्तिहरूसँग भेटवार्तासमेत गराउने कार्यमा लाग्नु भयो । कोइरालासँगको सरसल्लाहमा जहानिया शासक विरूद्ध क्रान्तिको सञ्चालन गर्ने थालो (Center) पाल्पालाई नै बनाउने निधो गर्नु भई कोइरालालाई पुनः भारत पु-याउन सहयोग गर्नुभयो ।
बी.पी. कोइराला पाल्पा दरबारमा आई फर्केको सुचना जहानिया शासकहरूले थाहा पाई क.क. चन्द्रजङ्ग थापा दलबलका साथ उहाँलाई पक्रन (Arrest) पाल्पा पठाइएको थियो तर उहाँहरूलाई पक्रन असमर्थ भई काठमाडौ फर्काइएको थियो । त्यसपछि तत्कालीन जहानिया शासकले पाल्पा “तीनसाँचा” (जिल्लाको ढुकुटी) बाट दश हजार रूपैयाँ बाटो खर्चसमेत उहाँहरूलाई दिई फकाएर काठमाडौ बोलाए । उहाँहरू काठमाडौ नगई भारतको लखनऊ पुगी क्रान्तिमा संलग्न हुनुभयो ।
उहाँले वैरगनियामा आयोजित बृहत् सम्मेलनमा भाग लिई नेपाल फर्केपछि तराईको पश्चिम भेग बहादुरगञ्ज र कृष्णनगरतर्फ मुक्ति सेनाको सहयोगमा विजय प्राप्त गर्नुभयो । प्रजातान्त्रिक आन्दोलनलाई थप सहयोग पुऱ्याउने हेतुले भारतको बिहार, उत्तर प्रदेश र बङ्गाल प्रान्तबाट उहाँले हातहतियार, गोला-बारूद, खाकी, लुगाफाटोका साथै मदिरासमेत (जो उपाहार “Donation” स्वरूप प्राप्त हुन्थ्यो) मुक्तिसेनाका जवानको निमित्त गाडा, मोटर, बस, रेल, पैदलद्धारा बहादुरगञ्ज र कृष्णनगरतर्फको फ्रन्टसम्म पुऱ्याउन सहयोग गर्नुभएको थियो ।
त्यसैगरी उहाँले तराई भेगतर्फका गाउँगाउँमा पुगी जमिन्दारहरूबाट मुक्ति सेनाका निमित्त रासनको व्यवस्था गर्दै मोर्चा “Front” सम्म पुऱ्याउने कार्यसमेत गर्नु भएको थियो । इतिहासकार पुरूषोत्तम शमशेर ज.ब.रा. ले तत्कालीन समयमा पटकपटक हैदाराबाद-हाउस नयाँ दिल्ली पुगी राजा त्रिभुवनको आज्ञाबमोजिम पश्चिम मोर्चातर्फको समाचार सङ्कलन गरी सम्प्रेषण र सुझावसमेत दिने गर्नु भएको थियो । जहानिया शासनको अन्त्यपछि राजा त्रिभुवनबाट नयाँ दिल्ली हैदराबाद हाउसमै सर्वप्रथम प्रजातान्त्रिक पार्टी “Party” तर्फका व्यक्तिहरूलाई मन्त्री मण्डलमा समावेश गर्ने छनोट हुँदा उक्त बैठकमा उहाँ पनि उपस्थित हुनुहुन्थ्यो ।
![](https://www.rastrakhabar.com/wp-content/uploads/2024/12/468393210_10161031255669403_4284313888490595658_n.jpg)
छोरा परमविर शमसेर राणा तथा वुहारी भगवती राणासंग ईतिहासकार राणा
विस २००७ साल फाल्गुन ४ गते राजा त्रिभुवन काठमाडौ फर्किदा उहाँ पनि नयाँदिल्लीबाट काठमाडौँ साथै फर्कनु भयो । यसरी नेपाली समाजमा आफ्नो छुट्टै पहिचान बनाउनु भएका राणाका थुप्रै कृतिहरु प्रकाशित भइसकेका छन् । जसमा वि.स. २०४७ को बैशाखमा प्रकाशित कृति श्री ३ हरुको तथ्य वृत्तान्त एक महत्त्वपूर्ण कृति हो जुन ऐतिहासिक पुस्तक दुई भागमा प्रकाशित भएको छ । जसको प्रथम संस्करण वि.स. २०४७ दोस्रो संस्करण वि.स. २०५९, तेस्रो संस्करण वि.स. २०६२. चौथो संस्करण वि.स. २०६५ मा प्रकाशित भइसकेको छन् । जुन कृति त्रिभुवन विश्वविद्यालयबाट समेत मान्यता प्राप्त कृति हो ।
यस्तै जंगबहादुर राणा द स्टोरी अफ हिज राइज एन्ड ग्लोरी, (२०५४, ) सम्झेका र सुनेका कुराहरू, (दोस्रो संस्करण २०६३ ),भएका र गुज्रेका घटनाहरू, .(२०६३ ) राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरु, (२०६४ ) लुके छिपेका प्रतिभाहरु, ( २०६८) मेरा जीवनका स्मृतिहरू, ( २०७० ) जस्ता कृतिहरु प्रकाशित भइसकेका छन् । यसका साथै ७० भन्दा बढी लेख रचनाहरू दैनिक, साप्ताहिक र मासिक पत्र-पत्रिकाहरूमा प्रकाशित भएका छन् ।
नेपाली इतिहास र साहित्य क्षेत्रमा पुर्याएको योगदान स्वरुप थुप्रै राणालाई योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्धारा `प्रसिद्ध इतिहासविद् तथा प्रजातन्त्रका सेनानीका रूपमा समर्पित´ शीर्षकमा अभिनन्दन-पत्र प्रदान गरिएको छ । यसका साथै खिलशर्म-राजवलोचन जोशी-स्मारक प्रतिष्ठानद्धारा अनवरत इतिहास साधनाको रूपमा समर्पित शीर्षक अभिनन्दन-पत्र प्रदान, साझा सरोकार नेपालबाट “नेपालको इतिहास शीर्षकमा अप्रील १७, २०१५ मा अभिनन्दन-पत्र प्रदान, कर्मयोगी वद्रीवक्रिम थापा स्मृति सेवा गुठी-२०५३ द्वारा अभिनन्दन पत्र (२०७२ श्रावण ११) प्रदान , श्री जगनन्द प्रकाशेश्वर तथा पञ्चायन संरक्षण समिति द्वारा २०७२ कार्तिक १२ गते अभिनन्दन पत्र प्रदान गरिएको छ ।
राणले नेपाल मात्र नभएर भारत, पाकिस्तान, बंगलादेश, तिब्बत, थाइल्यान्ड, हङकङ, सिङ्गापुर, हल्यान्ड, इङ्गल्यान्ड, जर्मनी, क्यानडा, अमेरिका, अस्ट्रेलिया लगायतका देशहरूको भ्रमण गरि त्यहाँको जीवनशैली र रहन सहनका साथै विश्व इतिहासको समेत अध्ययन गरि आफ्ना कृतिहरुमा समाहित गरेका छन् ।
रिर्पोटरः कुर्मराज आचार्य
![](https://www.rastrakhabar.com/wp-content/uploads/2024/04/the-excel-public-secondary-school.jpg)