
काठमाडौं, पुस- ११ ।
राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबारदेखि सुरु भएको एघारौं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले जित निकालेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलले पराजित गरेको छ ।
हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले दुई गोल गरे भने गोहा प्याट्रिक र विशन गुरुङले थप एक/एक गोल गरे । पहिलो हाल्फमा गोलरहित वरावर भएको खेलमा चारै गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ४६औं मिनेटमा विदेशी खेलाडी गोहा प्याट्रिकले गोल गर्दै हिमालयन शेर्पालाई सुरुवाती अग्रता दिलाउदा ५४औं मिनेटमा हिमालयनका विशन गुरुङले प्रहार गरेको बल गोलकिपरको हातबाट फुस्किएर गोल हुन पुग्यो ।
त्यस्तै, खेलको ६१औं र ८०औं मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले व्यक्तिगत दुई गोल गरे ।
ब्रिगेड ब्वाइजका लागि भने वर्तमान राईले खेलको ८७औं मिनेटमा एक सान्त्वना गोल गरे ।
खेलमा ‘म्यान अफ दी म्याच’ हिमालयन शेर्पाका कप्तान मानबहादुर तामाङ घोषित भए ।
जितसँगै १७ अंक जोडेको हिमालयन शेर्पा अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ भने पराजित ब्रिगेड ब्वाइज ६ अंकसहित बाह्रौं स्थानमा रहेको छ ।
