
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अब सुप्रिम सहकारी ठगीको मुद्दाको प्रतिवादका लागि रुपन्देही जिल्ला अदालतमा हाजिर हुनुपर्ने भएको छ ।
सहकारी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट बुधवार धरौटीमा रिहा भएका लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा अर्को मुद्दा दायर गर्ने तयारी भएको हाे ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी विरुद्ध बिहीबार मुद्दा दर्ता गर्न लागिएको बताइएकाे छ । केही प्राविधिक समस्या आएको खण्डमा चाहिँ शुक्रबार पनि मुद्दा दर्ता हुनसक्ने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल बताए ।
प्रहरीले गत शुक्रवार नै लामिछाने समेतलाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो । प्रहरीले रविविरुद्ध दुई करोड १० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा चलाउन सिफारिस गरेको छ ।
