
अमेरिकाका रिपब्लिकन नेता डोनाल्ड जे ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। उनलाई प्रधान न्यायाधीश जोन रोवर्टले सपथ ग्रहण गराएका हुन्।
यसअघि अमेरिकी उपराष्ट्रति निर्वाचित जेम्स डेभिड भेन्सले पनि अमेरिकी उपराष्ट्रति पदको सपथ लिएका थिए। राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा सपथ लिएसँगै उनको ह्वाइट हाउसमा दोस्रो कार्यकाल सुरु भएको छ।
राष्ट्रपति ट्रम्पको शपथ ग्रहण समारोहमा अमेरिकी पूर्व राष्ट्रपतिहरु, उद्योगपति र विश्वका राजनीतिज्ञहरुको पनि उल्लेख्य उपस्थिति थियो।
राष्ट्रपतिको सपथ ग्रहण लगत्तै गरेको सम्बोधनमा नेता ट्रम्पले भने, “आजबाट अमेरिकाको स्वर्णयुग सुरु भएको छ। अब हाम्रो देश समृद्ध हुनेछ र सम्मानित हुनेछ।” उनले अगाडि भने, “म स्पष्ट छु म सधैं अमेरिकालाई पहिलो स्थानमा राख्नेछु।”
“अमेरिकाको सार्वभौमिकता पुनर्स्थापित हुनेछ, सुरक्षा पुनर्स्थापित हुनेछ र न्यायको सन्तुलन कायम राखिनेछ,” उनले भने। ट्रम्पले न्याय विभागको अनुचित र पक्षपातपूर्ण प्रयोगको अन्त्य हुने पनि बताएका छन्।
राष्ट्रपति ट्रम्पले भने, “हाम्रो पहिलो प्राथमिकता गौरव, समृद्धि र स्वतन्त्रताले भरिपूर्ण देश निर्माण गर्नु हो।” डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेपछि आफ्नो योजनाबारे जानकारी दिएका थिए।
उनले अमेरिका-मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्ने कार्यकारी आदेशमा तत्काल हस्ताक्षर गर्ने बताए। ट्रम्पले अवैध प्रवेश तत्काल रोकिने र सरकारले लाखौं ‘आपराधिक आप्रवासी’लाई आफ्नो देशबाट निर्वासित गर्ने प्रक्रिया सुरु गर्ने बताए।
सामान्यतया अमेरिकी क्यापिटल बाहिर हुने सपथग्रहण समारोह यस पटक चिसोका कारण हलमा गरिएको थियो।
