
पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै आएका संघसंस्था र राजनीतिक दलले फेरि आन्दोलनको घोषणा गरेका छन् । उनीहरूले सोमबार पत्रकार सम्मेलन गरी माघ २९ गतेदेखि आन्दोलन गर्ने जनाएका छन् ।
वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै उनीहरूले आन्दोलनको घोषणा गरेका हुन् । पाथीभरामा केबलकार निर्माण शुरू भएपछि उनीहरूले विरोध जनाएका थिए । त्यही क्रममा माघ १२ गते प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएका थिए । काठमाडौंमा उनीहरूको उपचार भइरहेको छ ।
त्यसको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशमा आमहडताल गरेको थियो । जनजीवन प्रभावित भएपछि सरकारले वार्ता टोली गठन गरेको थियो ।
पटक पटक वार्ता गर्दा पनि सहमति नजुटेपछि उनीहरू फेरि आन्दोलनमा उत्रिने भएका हुन् । माघ २७ मा दुई पटक छलफलमा बस्दा पनि सरकारी पक्ष गम्भीर नदेखिएको उनीहरूको आरोप छ ।
उनीहरूले माघ २७ गते बेलुकासम्म उच्चस्तरीय वार्ता टोली गठन गर्न माग गरेका थिए । सरकारले माग सम्बोधन नगरेकाले फेरि आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको मुक्कुमलुङ (पाथीभरा) संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बूले बताए ।
