
गत शुक्रबार राजावादी समूहरुले काठमाडौंका तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले थप २४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका २४ जना उक्त हिंसात्मक प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईँनिकटका मान्छे रहेको बताइएको छ ।
उक्त घटनामा प्रहरीले यसअघि ४१ जनालाई पक्राउ गरी अदालतबाट अनुसन्धानको लागि म्याद थपको अनुमति लिइसकेको छ । पक्राउ परेकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपा महामन्त्री धवलशमशेर जबरालगायत ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा अगाडि बढाइने तयारी भइरहेको छ ।
पक्राउ परेका अन्यलाई आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत शुक्रबार तीनकुनेमा राजावादी समूहको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले निजी भवन, व्यवसायिक भवन, सरकारी सम्पत्ति र व्यवसायस्थलमा तोडफोड, आगजनी र लुटपाटसमेत गरेका थिए ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले सो प्रदर्शनमा कमाण्डर बनाएको दुर्गा प्रसाईँ भने अझै फरार छन् ।
