Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

जलवायु परिवर्तनले मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको छः प्रधानमन्त्री

Reporter

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको बताएका छन्। थाइल्याण्डको बैङ्ककमा जारी छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका लागि यो जोखिम अझ बढी रहेको उल्लेख गरे।

“यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पु¥याइरहेका छन्, तर हाम्रो तर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नुपरिरहेको छ । यसको प्रभाव पहाडहरूमा मात्र नभई तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको छ”, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले जलवायुको प्रभाव हिमालमा मात्र सीमित नभई तराई र तटीय क्षेत्रहरूमा पनि परेको बताए। “हिमालहरूको पीडा र हिमाल तथा समुद्रबीचको सम्बन्धलाई उजागर गर्न, नेपालले आगामी मे महिनामा सगरमाथा संवादको पहिलो संस्करण आयोजना गर्दैछ र म यहाँहरू धेरैलाई त्यहाँ देख्न उत्सुक छु”, उनले भने।

जलवायुको प्रभावका कारण तटीय क्षेत्रहरूमा पनि समुद्री सतह बढिरहेको र आँधीका घटना तीव्र हुँदै गइरहेको उल्लेख गर्दै उनले बिम्स्टेक क्षेत्रले हिमपहिरो, चक्रवात, मेघगर्जनसहितको वर्षा, तातो हावा र खडेरीजस्ता चरम मौसमी घटनाहरूको सामना गरिरहेको बताए। “हाम्रा जनता र हाम्रो भविष्यको रक्षा गर्न हामीले निर्णायक रूपमा कार्य गर्नु अनिवार्य छ, जलवायु परिवर्तनसम्बन्धी मुद्दामा सामुहिक रुपमा काम गर्न जरुरी छ”, प्रधानमन्त्री ओलीले भने।

उनले जलविद्युत् क्षेत्रमा लगानी गरेर सीमापार ऊर्जा ग्रीड र नवीकरणीय ऊर्जा परियोजनामार्फत क्षेत्रीय ऊर्जा व्यापार बढाउनपर्ने आवश्यकता औँल्याए। साथै उनले बढ्दो व्यापार तनाव र आपूर्ति शृङ्खला अवरोध हटाउँदै द्रुत प्राविधिक परिवर्तनलाई आत्मसाथ गरी सहकार्य गर्नुपर्नेमा जोड दिए।

“विपद् पूर्वतयारी, सार्वजनिक स्वास्थ्य सेवा र समावेशी आर्थिक नीतिहरू हाम्रो क्षेत्रीय मुद्दाको केन्द्रमा रहनुपर्छ, सामाजिक र सांस्कृतिक सद्भावलाई प्रवद्र्धन गरिनुपर्छ, र समुदायको बलियो भावनालाई बढावा दिनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “दिगो विकास लक्ष्यहरूलाई राष्ट्रिय र क्षेत्रीय नीतिगत ढाँचाहरूसँग एकीकृत गरी न्यायपूर्ण, समावेशी ढङ्गबाट सम्बोधन गर्नुपर्छ ।”

सम्मेलनको सफलता र बिम्स्टेक सदस्य राष्ट्रका जनताको चिरस्थायी शान्ति, कल्याण र समृद्धिका लागि आफू तीन करोड नेपाली जनताको सन्देश लिएर यहाँ आएको उल्लेख गर्दै उनले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात र सरकारलाई न्यानो आतिथ्यता र शिखर सम्मेलन आयोजनाका लागि प्रशंसा र आभार व्यक्त गरे। साथै उनले विनाशकारी भूकम्पका कारण भएको धनजनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट म्यानमार तथा थाइल्याण्डका सरकार एवम् जनताप्रति समवेदना र सहानुभूति व्यक्त गरे।

“बिम्स्टेकको सुरुआत यही सहरबाट भएको पनि दुई दशकभन्दा बढी भइसकेको छ । यस अवधिमा हामीले बङ्गालको खाडी क्षेत्र र त्यसभन्दा पर आमूल परिवर्तन र रूपान्तरण देखेका छौं”, उनले भने, “यी दुई दशकमा बङ्गालको खाडी विश्वव्यापी आर्थिक परिदृश्यमा सबैभन्दा तीव्र गतिमा विकास भइरहेका क्षेत्रमा परेको छ, तथापि चुनौतीहरू कायमै छन् । शान्ति र समृद्धिको खोजी जारी छ ।”


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको